आज अचानक किन
यो मनमा हलचली मच्चियो
साँच्ची, आज कुन मिति भयोरु
हिजो, आज र भोलिको बारेमा
नघोत्लिएको पनि कति भयो
हिजोको त्यो विगत त
हिजै विती गयो
मैले हिजो हिजोलाई
चिन्न सकिनँ
अनि
हजार प्रयासका बाबजुत
म आज हिजोलाई
कदापि किन्न सक्दिनँ
हिजो हातमा हिरा थियो
पहिरिने हैसियत थिएन
हिजो मनमा हाँसो थियो
ओठ हाँसोको हकदार थिएन
मनको सन्दुक भरी सपना थिए
साकार पार्ने समय थियो
तर, सामर्थ्य थिएन
आज पनि यी यस्तै छ
अवस्था अस्तव्यस्तै छ
अनन्त आँकिएको
आजको यो क्षणको
अस्तित्व पनि
अनायास अस्ताउँदै छ
हिजोमा फर्किने व्यग्र चाहना
अनि भोलिको चिन्ताले
आजको यो पलको सौन्दर्य
क्षणभंगुर छ
हिजो र आजको दोबाटोमा
दायाँ बायाँ दौडिरहेको यो मन
हिजो र आजको दोसाँधमा
दुःखी छ
भोलि पनि त
नदेखेको, नभोगेको
एक भूलभूलैया न हो
हिजोका सपनाका भग्नावशेषहरू
भोलि झन् भताभुङ्ग हुनेछन्
भीडको पछि लागेर दिग्विजयी हुने
दिग्भ्रम बोकेको यो महत्वकांक्षी मन
भोलि अवश्य भीरमा खस्नेछ
अनि सारा दुनियाँ हाँस्नेछ
मा प्रकाशित