दाङ, ३२ जेठ ।
नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापीठ बेलझुण्डीमा कार्यरत करार शिक्षकलाई हटाउन लागिएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । शिक्षक अभाव भइरहेका बेला राजनीतिक आस्थाका आधारमा शिक्षकलाई हटाउन थालिएको र पठनपाठन प्रभावित हुने भन्दै स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वमा विद्यार्थीहरु आन्दोलित भएका हुन् ।
आयुर्वेदको एउटा विभागमा ४ जना विज्ञ शिक्षक हुनु पर्ने चिकित्सा शिक्षा आयोगको मापदण्ड भएको अवस्थामा हाल अध्यापन गराइरहेका २ जना शिक्षकलाई पनि राजनीतिक आस्थाका आधारमा असार महिनादेखि करार अवधि थप नगरी हटाउन लागेको भन्दै विद्यार्थीहरुले विश्वविद्यालय पदाधिकारीहरुको ध्यानाकर्षण गराएका हुन् ।
केन्द्रीय आयुर्वेद विद्यापीठ बेलझुण्डका स्ववियु सभापति हेमन्त बञ्जाडेले विद्यार्थीको पठनपाठन प्रभावित गर्नेगरी विश्वविद्यालयले चालेको कदम आफूहरुलाई कदापि स्वीकार्य नहुने बताए । आफूहरुको आग्रहलाई बेवास्ता गरिए स्ववियु कठोर कदम चाल्न बाध्य हुने उनको भनाइ छ । केन्द्रीय आयुर्वेद विद्यापीठ बेलझुण्डीमा कार्यरत करार शिक्षकहरु आयुर्वेद शल्यचिकित्सक मदन भण्डारी र रसयानशास्त्र विज्ञ अमित कर्णलाई असारदेखि हाजिरी नगराउने रजिस्ट्रार माधव अधिकारीले मौखिक आदेश दिएको भन्दै क्याम्पस प्रशासन अन्यौलमा रहेको स्रोतले बताएको छ । आधिकारिक रुपमा पत्र नआएको तर मौखिक आदेश आएकाले हाजिरी गराउने कि नगराउने भन्नेमा आफूहरु अन्यौलमा रहेको क्याम्पस प्रशासनको भनाइ छ ।
चिकित्शा शिक्षा आयोगको मापदण्ड अनुसार केन्द्रीय आयुर्वेद विद्यापीठ बेलझुण्डीमा ५० बढी शिक्षक हुनुपर्ने भए पनि हाल २० जना शिक्षक मात्रै कार्यरत छन् । नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय आयुर्वेद विद्यापीठ बेलझुण्डीमा २ सय बढी विद्यार्थीले आयुर्वेद स्नातक अध्ययन गरिरहेका छन । विद्यार्थी संख्या उल्लेख्य भए पनि शिक्षकको व्यवस्थापन गर्न र पठनपाठनलाई गुणस्तरीय बनाउन विश्वविद्यालयले कुनै चासो नदिएको आरोप विद्यार्थीहरुको छ । साथै विद्यार्थीहरुले त्यहाँ अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक अभ्यासका लागि आवश्यक पर्ने सुविधा सम्पन्न आयुर्वेदिक अस्पताल निमार्णमा विश्वविद्यालयले कुनै ध्यान नदिएको र विद्यार्थीहरु मर्कामा परेको स्ववियुले जनाएको छ ।