टरिगाउँ विमानस्थलको स्तरोन्नतिका लागि पर्याप्त बजेट छुट्टयाउन सांसद गिरीको माग – Kanika Khabar
Sunday, July 14Nepali News Portal

टरिगाउँ विमानस्थलको स्तरोन्नतिका लागि पर्याप्त बजेट छुट्टयाउन सांसद गिरीको माग

    मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेस दाङका सांसद दीपक गिरीले टरिगाउँ विमानस्थ्लको स्तरोन्नतिका लागि पर्याप्त बजेट छुट्याउन माग गरेका छन् । संघीय संसदको प्रतिनिधिसभामा शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमाथिको बजेट छलफलमा सहभागि हुँदै आफूले पटक पटक विमानस्थलको स्तरोन्नतीको कुरा उठाएको बताए ।

तर, अहिलेसम्म पनि सरकारले वार्षिक बजेटमा समेटे पनि रकम विनियोजनमा भने कन्जुस्याई गरेको बताए ।

उनले भने ‘मैले यो सदनमा दाङ्गको टरिगाउँ विमानस्थलको स्तरोन्नति गरियोस भन्ने माग पटक पटक राख्दै आएको छु । आगामी वर्षको बजेट वक्तव्यमा दाङ्गको टरिगाउँ विमानस्थलको स्तरोन्नति गर्न बजेट छुट्याइने भन्ने उल्लेख भएकोमा म नेपाल सरकार तथा अर्थ मंत्रीजी लाई धन्यवाद दिन चाहन्छु । तर मेरो एउटा अनुरोध पनि छ – हात्तीको मुखमा जीरा हुने किसिमले बजेट न छुट्याइयोस् । कम्तीमा जागा अधिग्रहण गर्न र स्तरोन्नति गर्न पुग्ने गरी बजेट छुट्याइयोस् ।’

यसैगरी सांसद गिरीले नेपाली जहाजहरुलाई युरोपेली संघ (इयु) ले अहिले पनि कालो सूचीमा राखेको कुराको विषयलाई सरकारको ध्यानाकर्षण पनि गराए । उनले एक दशकबढी देखि यो सूचीमा पर्दा नेपालको पर्यटनको प्रचार प्रसारमा पनि प्रतिकुल असर परिरहेको बताउँदै नेपालमा हवाई दुर्घटनाको दर कम गर्न पहाडका विमानस्थलमा आवश्यक प्राविधिक उपकरणमा लगानी गर्दै प्रविधिमैत्री बनाएर हवाई सुरक्षा मापदण्ड कार्यान्वयनका विषयमा सरकारले प्रभावकारी कदम चाल्न पनि आग्रह गरे ।

 

 

संसदमा दीपक गिरीले राखेको अभिव्यक्ति

सम्माननीय सभामुख महोदय,

आज म आगामी वर्षको बजेटमा मन्त्रालयका लागि गरिएको बजेट विनियोजनबारे बोल्न उभिएको छु। सर्व प्रथम म नागरिक उड्डयन मन्त्रालयसंग सम्बन्धित विषयबारे चर्चा गर्न चाहन्छु।

मैले यो सदनमा दाङ्गको टरिगाउँ विमानस्थलको स्तरोन्नति गरियोस भन्ने माग पटक पटक राख्दै आएको छु। आगामी वर्षको बजेट वक्तव्यमा दाङ्गको टरिगाउँ विमानस्थलको स्तरोन्नति गर्न बजेट छुट्याइने भन्ने उल्लेख भएकोमा म नेपाल सरकार तथा अर्थ मंत्रीजी लाई धन्यवाद दिन चाहन्छु। तर मेरो एउटा अनुरोध पनि छ – हात्तीको मुखमा जीरा हुने किसिमले बजेट न छुट्याइयोस्। कम्तीमा जागा अधिग्रहण गर्न र स्तरोन्नति गर्न पुग्ने गरी बजेट छुट्याइयोस्।

नागरिक उड्डयनको कुरा गर्दा नेपाली जहाजहरुलाई युरोपेली संघ (इयु) ले अहिले पनि कालो सूचीमा राखेको कुराको चर्चा गर्ने अप्र्छ छ । एक दशकबढी देखि यो सूचीमा पर्दा नेपालको पर्यटनको प्रचार प्रसारमा पनि प्रतिकुल असर परिरहेको छ । नेपाल सन् २०१३ देखि इयुको कालो सूचीमा रहँदा ४१ मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको नेपालले २० गन्तव्यमा मात्रै अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।

इयले नेपालमा हवाई दुर्घटनाको दर कम गर्न पहाडका विमानस्थलमा आवश्यक प्राविधिक उपकरणमा लगानी गर्दै प्रविधिमैत्री बनाएर हवाई सुरक्षा मापदण्ड कार्यान्वयनका विषयमा ध्यानकर्षण गराए पनि यसको प्रगति के भएको छ यसबारे जानकारी गराउन मा सम्माननीय सभामुखज्यू मार्फत सरकारसंग माग गर्दछु ।

त्यत्तिकै महत्वपूर्ण कुरा एनआरएन नागरिकता दिइसके पछि विदेशमा बस्ने नेपालीहरुसंग तीन गुना बढी हवाई शुल्क लिने गरिएको छ। यस्तो भेदभाव किन? एनआरएन नागरिकता वाहक गैर आवासीय नेपालीलाई नेपाल भित्र हवाई यात्रा गर्दा नेपाली सरह भाडा तोक्न म माग गर्दछु ।

अब म संस्कृति मन्त्रालयको बारेमा छोटो चर्चा गर्न चाहन्छु।

निजी क्षेत्रसँगको सहकार्यमा नेपाल भारत सीमा नाकाबाट पशुपति नाथ, स्वर्गद्वारी र मुक्ति नाथ दर्शन यातायात सेवा सञ्चालन गर्ने योजना स्वागतयोग्य छ। प्युठान जिल्लामा रहेको स्वर्गद्वारी देशकै एउटा प्रमुख धार्मिक केन्द्र हो, तर त्यहाँ खाने पानीको समस्या छ। दर्शनार्थीहरुको लागि सुविधायुक्त आवास बनौन आवश्यक छ। त्यस्तै घुमाउरो बाटो भएकाले तीर्थ यात्रीहरु सडक दुर्घटनामा पर्ने गरेका छन्। त्यसैले सडक सुरक्षाको लागि सडक विभाग संग समन्वय गरी तत्काल कार्य योजना बनेर लागू गर्न म माग गर्द छु।

साविकका राप्ती अञ्चलका धार्मिक तथा पर्यटकीय स्थलहरुको संरक्षण गर्न जरुरी छ । सल्यानको खैरावाङ भगवति, प्युठानको स्वर्गद्वारी, दाङको धारापानी, शितलपुर मन्दीर, अम्बिकेश्वरी, छिल्लीकोटको कालिका मालिका लगायतका धार्मिक स्थलका साथै चमेरे गुफा, दंगीशरण संग्राहलय लगायतको संरक्षण गर्नु पर्छ ।

पवित्र नगरी जनकपुरलाई ‘वेडिङ हब’ र भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई ‘बर्थिङ हब’ को रूपमा प्रवर्द्धन गर्ने प्रस्ताव सकारात्मक छ। तर म के कुरामा ध्यानाकर्शण गर्न चाहन्छु भने लुम्बिनीलाई ‘बर्थिङ हब’ बनाउन लुम्बिनी सरकार संग सहकार्य गरी अत्यन्तै गुणस्तरीय मात्री शिशु सेवा पुराउन सक्ने अस्पतालको व्यवस्था गरिनु पर्छ। शिशु जन्मनु अघि र शिशु को जन्म भै सके पछि आमा तथा बच्चाको भरपर्दो प्रि न्याटल तथा पोस्ट न्याटल सेवा प्रदान गर्न नसक्ने हो भने खतरा मोलेर कोही पनि बच्चा जन्माउन नेपाल आउँदैन। लुम्बिनीको बर्थिङ हब’ मा उपलब्ध हुने सेवा लाई नमुनाको रुपमा मानेर पछि नेपाल भरि त्यस्तै सेवा उपलब्ध गराउने महत्वाकान्क्षा सरकारले राख्नु पर्दछ।

अब म पर्यटनबारे केही चर्चा गर्न चाहन्छु।

पर्यटन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२३ मा विदेशी पर्यटकको औसत बसाइ र खर्चमा झीनो सुधार देखिएको छ । पर्यटकको बसाइ शून्य दशमलव ८ प्रतिशतले बढेर १३ दशमलव २ दिन पुगेको छ भने थोरै सुधारका साथ दैनिक खर्च ४१ डलर पुगेको छ । तर, यसलाई उल्लेख्य सफलता मान्न सकिँदैन ।

पर्यटनसम्बन्धी सही तथ्यांकको अभावमा पर्यटन क्षेत्रमा नयाँ लगानी आकर्षित गर्न कठिन हुन्छ । त्यस्तै केकस्ता पूर्वाधार बनाउने हो भनेर निर्णय गर्न पनि पर्यटकको सही तथ्यांक आवश्यक पर्छ । निजीक्षेत्रले यही तथ्यांकलाई हेरेर लगानीको निर्णय गर्छ । सरकारले बनाउने पर्यटनसँग सम्बद्ध सबै नीति, कार्यक्रम आदिका लागि पनि सही तथ्यांक आवश्यक पर्छ ।

पर्यटकको वास्तविक संख्या र तिनले गर्ने खर्च आदिको सही जानकारीका लाग स्याटलाइट एकाउन्टिङ अर्थात पर्यटकले गर्ने कारोबारलाई अभिलेख गर्ने एकीकृत सूचना संकलन प्रणाली लागू गर्ने भनिए पनि त्यसको कार्यान्वयन भएको पाइँदैन ।

विश्वका प्रमुख उत्कृष्ट गन्तव्यमध्ये नेपाल पनि पर्दछ । हिमाल आरोहण र पदयात्राका अतिरिक्त विभिन्न ठाउँ उत्कृष्ट पर्यटकीय गन्तव्य मानिन्छन् । यी सबै क्षेत्रमा पर्यटकले बिताउने दिन औसत १३ भन्दा निकै बढी हुन्छ । त्यसो हुँदा नेपालले पर्यटकको औसत बसाइ र खर्च बढाउन उपयुक्त नीति लिन आवश्यक छ । नेपालले पर्यटकको संख्या बढाउन जोड दिने कि गुणस्तरीय पर्यटनमा जोड दिने भन्नेमै रहेको विवादको पनि निरुपण हुन जरुरी छ ।

संसारको सबैभन्दा होचो कालीगण्डकी नदीमा रहेको अन्ध गल्छी, सबैभन्दा अग्लो हिमाल सगरमाथा, संसारको सबैभन्दा उचाइमा रहेको थोरोंग्ला पास, पशुपति नाथ र लुम्बिनी हाम्रै नेपालमा छन् । तर, पर्यटन विकासका न्यूनतम पूर्वाधारहरुको कमी, पर्यटन गन्तव्य स्थलको उचित संरक्षण, विकास, व्यवस्थापन, आवास, सुविधा र प्रबद्र्धन गर्न नसकिएकाले अन्य पर्यटन गन्तव्य मुलुकहरुको तुलनामा ज्यादै पछाडि परेको छ ।

पर्यटन उद्योगमा देखिएका चुनौतीहरुको सम्बोधन गर्नका लागि सरकार, निजी क्षेत्र तथा गैरसरकारी क्षेत्र समेतको संयुक्त लगानी, तत्परता र सोचमा परिवर्तनको आवश्यकता छ ।

पर्यटन नेपालका लागि लाभको क्षेत्र हो तर यस क्षेत्रमा पर्याप्त मात्रामा लगानी हुनसकेको छैन । नेपालको पृथक भौगोलिक बनावट, हिउँले ढाकिएका शृंखलाबद्ध हिमालहरु, विभिन्न किसिमका झरनाहरु, पाखा पखेरा, टार, हरिया जंगल, झाडी, यहाँ रहेका नागबेली नदीनालाहरु, खोच, कुनाकन्दारहरु, सांस्कृतिक विविधता, कला, भेषभुषा, संस्कृति आदि कुराहरुले पर्यटन व्यवसायमा विकासका विभिन्न सम्भावनाहरु बढाएका छन् ।

नेपालमा पर्यटनले साढे चार लाख मानिसलाई प्रत्यक्ष रोजगारी दिएको, साढेतीन लाखलाई मौसमी रोजगारी दिएको अनि प्रत्यक्ष समेत गरी ११ लाख मानिस आश्रित रहेको देखिन्छ ।

पर्यटकहरुलाई भित्र्याउनका लागि वायु सेवाको प्रमुख भूमिका रहेको छ । यसै गरी बेगलोर – काठमाडौँ, कोलकता – काठमाडौँ, जनकपुर – बनारस र बिराटनगर – सिक्किम हवाई उडानको सम्भाव्यता पहिचान गरी निजी क्षेत्रको सहयोगमा उडान संचालन गरियोस।

धन्यवाद, जय नेपाल।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्