यस्ता छन् काठमाडौँ महानगरले अगाडि सारेको शिक्षाको नीति – Kanika Khabar
Sunday, July 14Nepali News Portal

यस्ता छन् काठमाडौँ महानगरले अगाडि सारेको शिक्षाको नीति

    मा प्रकाशित

काठमाडौँ, २ असार ।
शैक्षिक गुणस्तर कायम गर्न काठमाडौँ महानगरपालिकाले केही शैक्षिक नीतिलाई अगाडि सारेको छ । विद्यालय शिक्षालाई प्रभावकारी तथा उत्कृष्ट बनाउन महानगरले शैक्षिक नीति अगाडि सारेको हो ।

महानगरले अघि सारेको शिक्षाको नीति 

१. विद्यार्थीको मानसिक तथा शारीरिक विकासका लागि खेलकुदलाई पूर्व प्राथमिक तहदेखि नै अनिवार्य गरिनेछ । सबै श्रोत केन्द्रमा कम्तीमा एक–एक जना मनोसामाजिक परामर्शदाता र नर्सको व्यवस्था  गरिनेछ । पूर्व प्राथमिक तहका कक्षालाई कम्तीमा दुई तहमा सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ  ।

२. विद्यार्थीको अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खालको क्षमता विकास गर्न सामुदायिक विद्यालयहरूको शैक्षिक र भौतिक गुणस्तर सुधार गरिनेछ ।

३.सामुदायिक विद्यालयहरूमा दिवा खाजाको लागि डाइट प्लान सहितको मापदण्ड लागु गरिनेछ । यसो गर्दा विद्यार्थी सङ्ख्या दुई सय भन्दा कम भएका विद्यालयहरूमा सेन्ट्रल किचनको अवधारणा समेत प्रयोगमा ल्याइनेछ ।

४.सामुदायिक र संस्थागत विद्यालय तथा गैरसरकारी संस्थाहरूबाट उपलब्ध गराउँदै आएको छात्रवृत्तिलाई काठमाडौँ महानगरपालिकाको एकद्वार प्रणाली मार्फत वितरण गर्ने व्यवस्था मिलाइनेछ ।

५.अटिजम भएका विद्यार्थीलाई लक्षित गरी विशेष विद्यालय स्थापना गरी सञ्चालन गरिनेछ । सामुदायिक तथा संस्थागत सबै विद्यालयहरूमा अपाङ्गता भएका विद्यार्थीहरूलाई भेदभावरहित तवरमा पठनपाठन कार्य गर्न गराउन अनिवार्य गरिनेछ ।

६.विद्यार्थीहरूलाई पढ्दै कमाउँदै अवधारणा बमोजिम पार्ट टाइम काम गर्ने गरी रोजगारी सिर्जनाका लागि आवश्यक प्रबन्ध मिलाइनेछ ।

७. काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालित शैक्षिक तथा रोजगार परामर्श केन्द्रहरूको अनुमति, नवीकरण, नियमन, गुणस्तर परीक्षण र प्रमाणीकरण सम्बन्धी कार्य गर्न काठमाडौँ सीप तथा तालिम परिषद् गठन गरिनेछ ।

८. सामुदायिक विद्यालयहरूको भौतिक तथा वित्तीय परीक्षणका आधारमा विद्यालय सुधार योजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ । विद्यालयको चल अचल सम्पत्तिलाई शैक्षिक प्रयोजनका लागि मात्रै उपयोग गरिनेछ ।

९. महानगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक सिकाइ केन्द्रहरूलाई पुस्तकालयको रूपमा विकास गरिनेछ । निजी तथा गैरसरकारी संस्थाहरूलाई पुस्तकालय सेवा विस्तार गर्न प्रोत्साहन गरिनेछ

१०.विद्यालयको वित्तीय सुशासनको लागि विद्यालयको लेखा परीक्षण महानगरपालिकाबाट गरिने प्रबन्ध मिलाइनेछ ।

११. व्यावसायिक खेलाडी तथा प्रशिक्षकको रूपमा जनशक्ति विकास गर्न सम्भावित विद्यालयमा स्पोर्टस् एकेडेमी सञ्चालन गरिनेछ । विद्यालय स्तरमा वार्षिक रूपमा एक महिने खेल महोत्सव आयोजना गरिनेछ ।

१२. काठमाडौँको स्थानीय पहिचान र मौलिक सभ्यताका विषयहरू समेटिएको संक्षिप्त पाठ्यक्रम तयार गरी कक्षा ११ र सो भन्दा माथिल्लो तहका विद्यालय तथा क्याम्पसहरूमा अतिरिक्त कक्षा सञ्चालनका लागि सहजीकरण गरिनेछ ।

१३. विश्वविद्यालयका गोल्ड मेडलिस्टहरूलाई सामुदायिक विद्यालयको रिक्त शिक्षक पदमा करार सेवामा शिक्षण गर्ने प्रबन्ध मिलाइनेछ । काठमाडौँलाई अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्यको रूपमा विकास गरी विदेशी विद्यार्थीहरूलाई आकर्षित गरिनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्