दाङ,४ असार ।
दाङमा ट्याक्टर दुर्घटनामा घाइते एक जनाको मृत्यु भएको छ । जिल्लाको शान्तिनगर गाउँपालिका वडा नम्बर २ का ५१ वर्षीय धनबहादुर भण्डारीको उपचारका क्रममा बाँकेस्थित नर्सिङ होममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । सोमबार बेलुका पौने ८ बजेतिर ढुङ्गा बोकेको ट्याक्टर दुर्घटनामा परी चार जना घाइते भएका थिए।
शान्तिनगर गाउँपालिका वडा नम्बर २ का २३ वर्षीय उमेश भण्डारी, ३९ वर्षीय भीमबहादुर बुढाथोकी र ५२ वर्षीय लाटो रानाको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। सोमबार बेलुकी पौने ८ बजेतिर शान्तिनगर गाउँपालिका वडा नम्बर १ नयाँ बस्ती गुन्डले खोलामा खिलतपुरबाट अमवा तर्फ ढुङ्गा लोड गरी जाँदै गरेको रा १ त २३१७ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ। ट्याक्टरमा सवार ६ जनामध्ये एक जना सकुशल रहेका छन्। ट्याक्टरका चालक भने फरार छन्। ट्याक्टर चालकको खोजी भई रहेको प्रहरीले बताएको छ।