गाेवििन्द खड्का
घोराही । लेखक तथा साहित्यकार मोमिलाले महिलाको क्षमतामा विश्वास नगरेको भन्दै दुःख प्रकट गर्नुभएको छ ।
‘म हात जोडेर बिन्ती गर्छु’ उहाँले मञ्चमै भक्कानिएर भन्नुभयो– ‘महिलासँग पनि क्षमता छ ।’ उहाँका अनुसार कतै चोरेर ल्याएकी हो, कोही पुरुषले लेखिदियो होला, आफैले लेखेकी होइन, राम्री देखेर नम्बर बढी दियो होला भनिन्छ । महिलालाई विश्वासै नगर्ने प्रवृत्ति छ । ‘एकै चोटी लेख्दिन’ उहाँले गहन कृति रचना गर्ने तरिका बारेमा भन्नुभयो– ‘धेरै कुरा मनमा संगालेर मात्रै लेख्छु ।’ उहाँले मलाई सबभन्दा बढी सन्तुष्टि निबन्धमा छ । निबन्धलाई प्रेम गर्छु । बढीभन्दा बढी आफ्ना कुरा समेट्ने ठाउँ निबन्ध हो । पुरस्कार पाउन लेख्दिन । अर्कै खालको लेख्नुपर्छ । निबन्ध कविता जस्तो, नाटक जस्तो पनि हुन्छ । यो म लेखेरै देखाउँदैछु ।
‘प्रश्नहरु त बाँकी नै रहन्छन्’ निबन्ध संग्रहको शनिवार सर्वोदय पुस्तकालय तथा वाचनालय घोराहीमा समीक्षात्मक विमर्श भएको थियो । पुस्तकालयका कावा अध्यक्ष चन्द्रराज पन्तको अध्यक्षतामा भएको कार्यक्रमको समीक्षकहरु डा. टीकाराम उदासी, डा. मधुमालती खत्री र डा. कृष्णराज डिसी हुनुहन्थ्यो । उहाँका कृतिका विषयमा साहित्यकार नारायण नेपाल, पत्रकार दधिराम सुवेदी, डा. लोकराज पराजुली, बुनु लामिछाने, किशोरचन्द्र गौतम, शारदा शर्माले प्रश्न गर्नुभएको थियो । राप्ती साहित्य परिषद्का बरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटाले धन्यावाद व्यक्त गर्नुभएको थियो । राप्ती साहित्य परिषद् केन्द्र, सर्वोदय पुस्तकालय तथा वाचनायल, नेपाली लेखक संघ कर्णाली प्रदेशले संयुक्तरुपमा कार्यक्रमको आयोजना गरेका थिए । नेपाली लेखक संघका सदस्य सन्ध्या रेग्मीको स्वागतबाट शुरु भएको कार्यक्रम सञ्चालन आदिम केसीले गर्नुभएको थियो ।