दाङ, १६ असार ।
गत चैतमा भएको कक्षा १० को अन्तिम परीक्षा एसइईमा परीक्षा फारम भरेर पनि नदिएका विद्यार्थीलाई पुनः परीक्षा दिन पाउने गरी शिक्षा मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका परिवर्तन गर्ने तयारी गरेको छ ।
निर्देशिका अनुसार यस अघि दुई विषयमा एनजी आउने विद्यार्थीले नतिजा सार्वजनिक भए लगत्तै मौका परीक्षा दिन पाउने व्यवस्था थियो । दुई भन्दा बढी विषयमा एनजी आएका विद्यार्थीले अर्को वर्ष हुने वार्षिक परीक्षामा सहभागी हुन पाइन्थ्यो । जति वटा विषयमा एनजी आएको छ त्यसमा तीन वर्षसम्म निरन्तर परीक्षा दिन पाउने व्यवस्थालाई हटाएर एसइईमा एनजी आउने सबैले परीक्षा दिन पाउने गरी लेटर ग्रेडिङ् निर्देशिका संशोधन गर्न लागिएको हो ।
‘परीक्षा फारम भरेर परीक्षा नदिएका, कम्तीमा २७ अङ्क पनि नल्याएर सातै विषयमा एनजी आएकाले समेत मौका परीक्षा दिन पाउने गरी निर्देशिका संशोधन गर्न लागेको हो’ मन्त्रालय स्रोतले भन्यो ।
परीक्षा फारम भरेर पनि सहभागी नहुने ८ हजार १ सय ९५ जना छन् । उनीहरु पनि अब परीक्षामा सहभागी हुन पाउने छन् । राष्ट्रिय परीक्षा बोर्डले मौका परीक्षाको लागि साउन १८ र १९ गते मिति तय गरेको छ । अब सबै विषयको परीक्षा हुने भएपछि अर्को सात दिन थप गर्नुपर्ने हुन्छ ।
निर्देशिका संशोधन भएमा २ लाख ४२ हजार ३ सय विद्यार्थीले पुनः परीक्षा दिन पाउने छन् ।