काठमाडौँ, ८ साउन ।
नेपाली साहित्यको सबैभन्दा ठुलो राशिको पुरस्कार मदन पुरस्का २०८० को लागि पाँचवटा कृति छनौटमा परेका छन् । मदन पुरस्कार गुठीले २०८० सालमा प्रकाशित भएका विभिन्न तीन सय चारवटा किताबमध्ये पाँच वटा छनौट गरेर सार्वजनिक गरेको हो।
गुठीले मंगलबार विज्ञप्ति जारी गर्दै पाँच कृतिको नाम सार्वजनिक गरेको हो। छनोट भएका पाँचमध्ये सबभन्दा उत्कृष्ट कृतिले २०८० सालको मदन पुरस्कार प्राप्त गर्नेछ।
छानिएका कृतिहरूमा भक्त स्याङ्तानको ‘डम्फुको आत्मालाप’, मोहन मैनालीको ‘मुकाम रणमैदान’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’ रहेका छन्।
विसं २०१२ मा स्थापित भएको मदन पुरस्कार गुठीले पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ कृतिलाई मदन पुरस्कृत गरेको थियो।
गुठीले २०७२ देखि प्राप्त पुस्तकहरूमध्येबाट बढीमा दशवटा पुस्तकहरू छनौट गरी सूची सार्वजनिक गर्दछ। गुठीको नियमानुसार अप्रकाशित सामग्रीहरूको बाहुल्य रहेका पुस्तकहरूलाई छनौटको एउटा आधार बनाइन्छ। छनौटमा परेका पुस्तक मध्ये एकलाई श्रेष्ठ कृतिका रूपमा मदन पुरस्कार प्रदान गर्दै आएको छ।
०७५ सालबाट पुरस्कार राशी चार लाख रुपैयाँ बनाइएको छ। मदन पुरस्कार नेपाली साहित्य क्षेत्रको सबैभन्दा प्रतिष्ठित पुरस्कार मानिन्छ।