साहित्य कुनै पनि समाज , समय र सभ्यताको साक्षी हो ।यो उच्च चेत भएका मान्छेहरुले बनाएको समयको उत्कृष्ट चित्र र उत्कृष्ट आवाज जस्तै हो । सर्जक स्रष्टाहरु आफू बाँचेको युगका सबैभन्दा विश्वासिला युग प्रतिनिधि हुन् । उनीहरुद्वारा रचिएका बिधागत सिर्जनाहरु लामो कालखण्डसम्म प्रभाव पार्न सक्ने बलिया मन्त्र हुन।असल सर्जकले सिर्जना गर्नुको उद्देश्य समाज र समयको दुर्गन्ध र कुचित्रलाई मेटेर सभ्य समाजको परिकल्पना गर्ने हो । सर्जकहरु समाजका सम्मानित व्यक्तिको रूपमा रहनुको कारण लेखेर मात्र होइन समाजको चरित्र र अबस्थालाई सिर्जनाद्वारा गरिमामय बनाइदिएर हो ।
नेपाली साहित्यको प्रसङ्गको उठान गर्ने हो भने प्राचीन कालदेखि नै विभिन्न साहित्यका विधाहरु जन्मिएका छन् । कुनै विधा अत्यन्त लोकप्रिय भएर वर्तमान समयमा पनि जीवित छन् , कुनै विधा थोरै शिथिल अबस्थामा छन् भने कुनै चाहिँ अस्तित्व बिहिन अबस्थामा छन् । प्राचीन कालदेखि नेपाली साहित्यमा लोकप्रिय बन्दै आएको विधा मध्य गीत एक महत्वपूर्ण विधा हो । यो गायन एवम् साजबाजको साथमा प्रस्तुत हुने भएर होला सायद गीत सबै उमेर र स्तरका मान्छेहरुको लागि स्वादिलो काव्यिक परिकार बनेको हो । गीतका धेरै रुप त हुन्छन् नै गीतका धेरै प्रकार पनि छन् । पछिल्लो समयमा नेपालमा अत्यन्त लोकप्रिय बनेका गीतहरु आधुनिक र लोकगीत नै हुन् । यी दुबै किसिमका गीतहरुको लोकप्रियता झनै बढ्नुको कारण गीतहरुमा मिठो सांगीतिक झंकार र सुमधुर स्वरको मिश्रणले गर्दा पनि हो । अझ गीत श्रव्यदृश्यको युगमा आइपुग्दा त यसको लोकप्रियता यति धेरै बढ्यो कि साहित्यका अन्य विधालाई पछि पारेको जस्तो आभास हुन थाल्यो । आधुनिक सुगम संगीत आफैमा ससक्त सांगीतिक सरोवर हो र साहित्य अनि भाषाको अभिन्न अङ्ग नै हो । लोक गीतचाहिँ हाम्रो माटोको सुगन्ध हो , मान्छेहरु (लोक) को जीवनशैलीको प्रतिबिम्बि हो र सुखदुःख , मिलन बिछोडको सुस्केरा हो अनि चाडपर्वहरुको अंगरक्षक जस्तै हो ।
वर्तमान समयमा खासगरी लोक गीतमा विकृतिको बाढी नै आएको छ भन्दा अतिशयोक्ति नहोला । लोक गीतको सुन्दरता माथि अश्लीलताको गाढा दाग देखिएको छ। सबैभन्दा अश्लीलताको बिरोध गर्ने र संस्कृतिको संरक्षण गर्ने महान जिम्मेवारी समाजमा लोक गीतको नै हो । यो सधैं विकृतिको विपक्षमा खरो रूपमा अभिनु पर्छ ।व्यावसायिक बन्ने नाममा गीतमा जुन प्रकारको लज्जाबोध हुने खालका कामहरू भए ती सबै गीतलाई पतनतिर लैजाने कुबाटाहरु हुन् । नेपालका केही मौलिक चाडपर्व यस्ता छन् जुन लोक गीतको मौलिकताबाट छुट्याउने भने ती चाडपर्व लोप हुने अबस्थामा पुग्छन् ।ती पर्वहरुको गहना भनेकै लोक गीत हुन् ।
गीतहरुमा विकृति भित्र्याउनेहरुले सबैभन्दा धेरै शोषण र दुरुपयोग नारीलाई गरेको पाइन्छ । जसलाई सबैभन्दा धेरै सम्मान गर्नुपर्ने हो । नारीहरुको महान पर्व तीजको नाममा यस्ता गीतहरु निर्माण भएका छन् कि तीज गीतमा विकृति र अश्लीलताको प्रतिस्पर्धा नै चलेको छ । यी गीतका शब्द र दृश्यले नारी अस्मितालाई यसरी नंग्याएको कि मानौं अब नाङ्गिने ठाँउ नै बचेको छैन । स्रष्टा सर्जकहरु किन यसरी भोका भए? बाँच्नको लागि आमा दिदी बहिनीहरुलाई नै नङ्ग्याउनु पर्ने ? सर्जकहरुले सधैं सुन्दर कुराको परिकल्पना गर्ने होईन र ? बाँच्ने खालको सिर्जना गर्ने होइन र ? स्रष्टाका सिर्जनाबाट हाम्रो समाजले राख्ने अपेक्षा के ? यतिबेला यस्ता थुप्रै प्रश्नहरु जन्मिएका छन् । कस्ता सर्जकहरुले बजार पाइरहेका छन् र यस्तो संवेदनशील विषयमा उच्च चेत भएका सर्जकहरु किन मौन छन् , किन उनीहरुका कलम चुपचाप छन् ? को लेख्दै छ , कस्तो मानसिकता भएको कलमले लेख्दै छ ? हरेक युगको सबैभन्दा शक्तिशाली अस्त्र भनेको कलम हो जो सधैं कालोको विपक्षमा उभिनु पर्छ । के लेख्दैछन यो युगका कलमहरु ? (लेखक राष्ट्रियस्तरका गीतकार हुन् ।)