काठमाडौँ, २६ साउन ।
सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेसँग विगतमा भएको विमतिका बिचमा सहमति गरेर गठबन्धन बनाएकाले आफूहरु चुप नबस्ने बताएका छन्।
नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रममा बोल्दै कांग्रेस र एमालेबिचको विमतिहरुलाई जबरजस्ती छोप्न खोजे दुर्घटना हुने बताएका हुन् ।
महामन्त्री शर्माले एमालेसँग भएका विमतिका विषयवस्तुलाई तिलाञ्जली दिने वा जबरजस्ती ढाकछोप गर्न खोजे सरकार नै दुर्घटनामा पर्ने भएकाले आफूले विमतिका विषय बाहिर ल्याउने गरेको पनि स्पष्ट पारे।
कांग्रेस र एमालेबीच विमतिका विषयमा थाँती राखेर अघि बढ्नका लागि यो गठबन्धन नबनेको उनको भनाइ थियो।
महामन्त्री शर्माले विमतिका विषयमा प्रधानमन्त्री ओलीलाई महसुस होला भनेर कांग्रेसले सोच्ने र एमालेले पनि शेरबहादुर देउवालाई महसुस होला भनेर सोच्ने हो भने त्यसको कुनै अर्थ नहुने बताए।
उनले आफूहरूबीच चुप लागेर बस्नका लागि वर्तमान सत्तारूढ गठबन्धन नबनेको दाबीसमेत गरे।