दाङ, ३० साउन ।
घोराही सिमेन्ट गत आर्थिक वर्षको कारोबार घाटामा गएको देखाएको छ । उद्योगले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०र८१ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नोक्सानी १ अर्ब २१ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष २०७९र८० मा कम्पनी ६ करोड ३१ लाख रुपैयाँ नाफामा थियो ।
निर्माण क्षेत्रमा देखिएको मन्दीको प्रभावले कम्पनीको बिक्री आम्दानी नै घटेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ६२ करोड रहेकोमा गत आर्थिक वर्षमा ४ अर्ब ४७ करोडमा झरेको छ ।
समग्रमा बैंकिङ ब्याजदर घट्दा पनि कम्पनीको वित्तीय लागत भने ७९ प्रतिशतले बढेको देखिन्छ । अघिल्लो आर्थिक वर्षमा ४२ करोड ४९ लाख रुपैयाँ वित्तीय लागत रहेकोमा गत आर्थिक वर्ष यो ७६ करोड १७ लाख रुपैयाँ छ । कम्पनीको प्रति सेयर आम्दानी २६ रुपैयाँ ६८ पैसा ऋणात्मक छ । त्यस्तै प्रतिसेयर नेटवर्थ २०७ रुपैयाँ ९३ पैसा छ ।
बजारमा सिमेन्टको मागभन्दा उत्पादन धेरै भएकाले प्रतिस्पर्धा बढेको, बिक्री दर घटेको र लागतमा भएको वृद्धिले आम्दानी घट्न गएको घोराहीले विवरणमा स्पष्ट पारेको छ । ४ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भमा ४ अर्ब ९२ करोड रुपैयाँ छ ।


