दाङ, ३१ साउन ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी भदौ ४ गते विश्वासको मत लिने भएका छन् । भदौ ४ गते बस्ने लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५औँ बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन भएका हुन् ।
प्रदेश सभाले बुधवार सूचना प्रकाशित गर्दै भदौ ४ गते दिउँसो १ बजे बैठक आह्वान गरेको लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिएका छन् । एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य साउन ७ गते नेपाली काङ्ग्रेस र नेकपा एमालेका ५६ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका थिए । साउन ७ मा मुख्यमन्त्री बनेर ९ गते शपथ ग्रहण र पदभार ग्रहण गरेका मुख्यमन्त्री आचार्यले सरकारलाई अझै पूर्णता दिन भने सकेका छैनन् ।
एमाले र काङ्ग्रेसबाट ४/४ मन्त्री नियुक्त गरे पनि तीन मन्त्रालय अझै खाली रहेका छन् । सत्ता गठबन्धनका दुई दल एमाले र कांग्रेसबाट थप मन्त्री बनाउनु पर्ने दबाब मुख्यमन्त्री आचार्यलाई रहेको छ भने मुख्यमन्त्री आचार्य साना दललाई पनि सरकारमा सहभागी बनाएर अघि बढ्ने मनस्थितिमा छन् ।