काठमाडौँ, ३२ साउन ।
वाणिज्य बैंकहरूले आगामी भदौ महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाएका छन् ।
२० वाणिज्य बैंकहरुले सार्वजनिक गरेको ब्याजदर सूचनाअनुसार एउटा बैंक प्राइम कमर्सियलले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएको छ भने ७ बैंकले स्थिर राखेका छन् । स्टान्डर्ड चार्टर्ड, नबिल, ग्लोबल आईएमई, लक्ष्मी सनराइज, सिटिजन्स, माछापुच्छ्रे र कुमारीले ब्याजदर स्थिर राखेका छन् ।
औसतमा वाणिज्य बैंकहरूको ब्याजदर ०.२१ प्रतिशत विन्दुले घटेको शुक्रबार सार्वजनिक विवरणानुसार देखिन्छ । सर्वाधिक ब्याजदर घटाउनेमा नेपाल बैंक छ । यो बैंकले साउनमा मुद्दती निक्षेपमा दिँदै आएको ब्याजदर १ प्रतिशत विन्दुले घटाएको छ ।
यस्तै, प्रभु बैंकले ०.९० प्रतिशत विन्दु, नेपाल इन्भेस्टमेन्ट मेगा र माछापुच्छ्रे बैंकले ०.५० प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् ।
ब्याजदर बढाउनेमा हिमालयन र प्राइम कमर्सियल बैंक छन् । साउनको तुलनामा भदौका निम्ति यी दुवै बैंकले ०.२५ प्रतिशत विन्दुले ब्याजदर बढाएका छन् ।



