घोराही । नेपाली जनताले लामो समयदेखि राखेको शान्तिको चाहनालाई मूर्त रुप दिन नेपाललाई शान्ति क्षेत्र घोषणाको प्रस्तावलाई अघि बढाउनुपर्नेमा जोड दिइएको छ । सर्वोदय पुस्तकालय तथा वाचनालय तथा राप्ती साहित्य परिषद् केन्द्रको आयोजनामा शनिबार घोराहीमा आयोजना गरिएको बुद्ध चिन्तन र शान्ति क्षेत्र नेपाल विषयक छलफल कार्यक्रममा बोल्ने सबैजसो वक्ताहरुले जनस्तरबाट उठेको शान्ति क्षेत्र अभियानप्रति ऐक्यबद्धता जनाउँदै यसलाई संयुक्त राष्ट्रसंघसम्म पु¥याउनुपर्ने आवश्यकतामा जोड दिएका थिए ।
विश्वका विभिन्न भागमा आज पनि अनेक नाममा युद्ध चलिरहेको अवस्थाको चर्चा गर्दै वक्ताहरुले बुद्ध जन्मेको देशलाई शान्ति क्षेत्रका रुपमा अघि बढाए मात्रै युद्धको चपेटाबाट जोगिन सकिने धारणा राखेका थिए । कार्यक्रममा मानव जातिको संघर्ष नै शान्ति र सामाजिक न्यायका लागि भएको भन्दै यसलाई आत्मसात गर्दै शान्ति अभियानलाई ठीक ढंगले अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याइएको थियो ।
सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतमको अध्यक्षतामा भएको छलफल कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल शान्ति अभियानका संयोजक एवं आयोजक संस्थाका सल्लाहकार नारायणप्रसाद शर्माले राज्य सञ्चालकहरु नेपालले अंगिकार गरेको असंलग्न परराष्ट्र नीति अनुरुपको आचरणमा चल्न सकेमात्र युद्धको विभीषिकाबाट बच्न सकिने धारणा राख्नुभयो । असंलग्नता कायम राख्न नसके देश रहन्छ कि रहँदैन भन्ने अवस्थासमेत आउनसक्ने भन्दै उहाँले सबैले होसियारीपूर्वक कदम चाल्नुपर्ने आवश्यकता औंल्याउनुभयो । जन्मेदेखि मर्दासम्म मानिसलाई शान्ति चाहिने भन्दै उहाँले शान्ति अनुभूति गरी आफ्ना कमी कमजोरी देख्न र सच्याउन, अरुप्रति समभाव राख्न बुद्ध चिन्तन महत्वपूर्ण रहेको भनाइ राख्नुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि राप्ती साहित्य परिषद्का सल्लाहकार पुरुषोत्तम खनालले राष्ट्रिय विभूतिका रुपमा मानिएका गौतम बुद्धप्रति सकारात्मक धारणा बनाउनुपर्ने बताउँदै सबैलाई चाहिएको शान्ति र विकास सबैको साझा एजेण्डा रहेको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल शान्ति क्षेत्रको प्रस्ताव र बुद्ध चिन्तनबारे डा. कृष्णराज डिसी, पत्रकार नरेन्द्र केसी, नागरिक समाजका पूर्वसंयोजकहरु टीकाराम रेग्मी, चन्द्रराज पन्त, केवी मसाल, नेपाली कांग्रेसका नेता बम बहादुर डिसी, डा. लोकराज पराजुली, सुरेशकुमार पाण्डे, घनश्याम अस्तित्व शिशिर देवकोटालगायतले बोल्नुभएको थियो । राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष डा. टीकाराम उदासीको स्वागतबाट शुरु भएको कार्यक्रमको सहजीकरण सर्वोदयका सचिव सुशीला आचार्यले गर्नुभएको थियो ।
यसअघि नेपाललाई जनस्तरबाट शान्ति क्षेत्रको रुपमा घोषणा गर्दै नेपाल शान्ति क्षेत्र अभियानले चरणबद्ध रुपमा यससम्बन्धी छलफल चलाउँदै आएको छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनी प्रदेश दाङबाट शुरु भएको यस अभियानप्रति ऐक्यवद्धता जनाउँदै विभिन्न गतिविधि भइरहेका छन् । जनस्तरबाट व्यापकरुपमा ऐक्यवद्धतासहित संसदबाट नेपाललाई शान्ति क्षेत्रका रुपमा घोषणा प्रस्ताव पारित गराउँदै संयुक्त राष्ट्रसम्म पु¥याउनुपर्नेमा यससम्बन्धमा आयोजना भइरहेका सबैजसो छलफलमा सहभागीहरुको जोड रहँदै आएको छ ।


