काठमाडौँ, ५ भदौ ।
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई फोन गरेर धम्की आएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सुरक्षाको माग गरेकी छिन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै मन्त्री भट्टराईले विश्वविद्यालयमा असुरक्षा बढेकाले सुरक्षाको माग गरेको बताइएको छ ।
उनले लेखेकी छिन्, ‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरु माथि हमला गर्न खोज्ने र प्राध्यापकहरुलाई फोन गर्दै धम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु । गुण्डागर्दी गर्ने छुट कसैलाई छैन । यस्तो क्रियाकलापमा संग्लग्न व्यक्तिहरुलाई कानूनी दायरामा ल्याई कारवाही गर्न समेत म गृहमन्त्रालयलाई गम्भीरताकासाथ अनुरोध गर्दछु ।’
त्यस्तै पहिलो स्टाटस लेखेको झण्डै दुई घण्टा पछि अर्को स्टाटस सार्वजनिक गर्दै मन्त्री भट्टराईले लेखेकी छिन् , ‘ यहाँहरुले मलाई महत्वपूर्ण सुझाव दिनु भएकोमा आभारी छु । मैले सार्वजनिक अपिल गर्नु पर्ने भएर नै गरेको हुँ । कुनै आवेगमा आएर लेखेको होइन । विगत ५ दिनदेखि लगातार सम्पर्क र समन्वय गरेको कुरा समेत जानकारी गराउन चाहन्छु ।


