विकास माग्न दाङका जनप्रतिनिधि बालुवाटारमा – Kanika Khabar
Monday, February 16Nepali News Portal

विकास माग्न दाङका जनप्रतिनिधि बालुवाटारमा

    मा प्रकाशित

गणेश आचार्य
काठमाडौँ, ८ भदौ ।
दाङका स्थानीय तहका जनप्रतिनिधि एवम् निजी क्षेत्रका प्रतिनिधिले तुलसीपुरको टरीगाउँ विमानस्थल स्तरोन्नतिका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।

नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, संघीय सांसदहरु दिपक गिरी र मेनका पोखरेलको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलले टरीगाउँ विमानस्थलको स्तरोन्नतिका साथै लमही–घोराही–तुलसीपुर चारलेन सडक निर्माण, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान जग्गा प्राप्ति र एमविविएस स्वीकृत कक्षा सञ्चालन, बबई करिडोर निर्माण, दाङ देउखुरी उपत्यकामा रिङ रोड मेट्रो बस सञ्चालन र सुकौराकोट दंगीशरण राजा दरबारमा थारु संस्कृति केन्द्र निमार्णका विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले टरीगाउँ विमानस्थलको स्तरोन्नतिका लागि सरकार गम्भीर भएको बताए । टरीगाउँ विमानस्थलाई कर्णाली र सुदुरपश्चिम प्रदेशको हवाई उडानको केन्द्र बनाइने बतटाए । ‘टरीगाउँ विमानस्थल मौसमका हिसाबले पनि उपयुक्त छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘नेपालगन्ज, सुर्खेत र धनगढी उडेका विमान आकस्मिक अवतरण गर्नुपर्दा टरीगाउँ अवतरण गर्न मिल्ने गरी विस्तार गरिन्छ ।’ प्रधानमन्त्री ओलीले लमही–घोराही–तुलसीपुर चारलेन सडक निमार्णका लागि टेण्डर गर्ने तयारी थालिएको समेत जानकारी दिए ।

सात दशक अघिनै विमान बसेको टरिगाउँ विमानस्थलमा पछिल्लो दुई महिना यता विमान नै आउन छोडेको छ । विमानस्थलका विषयमा पटक पटक आवाज उठे पनि भौगोलिक रुपमा नेतृत्व विभाजन हुँदै गर्दा धावनमार्ग बिस्तारमा ढिलाई हुँदै आएको छ । संघीय सरकारले धावनमार्ग विस्तारका लागि प्रत्येक वर्ष बजेट विनियोजन गर्दै आए पनि कार्यान्वयनमा आएको छैन ।

तुलसीपुर उपमहानगरको संयोजनमा आएको प्रतिनिधि मण्डलमा एमाले केन्द्रीय सदस्य घनश्याम पाण्डे, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का, उपप्रमुख स्यानी चौधरी, घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डीसी, बबई गाउँपालिका प्रमुख कुलबहादुर खत्री, दंगीशरणका गाउँपालिका प्रमुख शम्भु गिरी सहित उद्योगी र व्यवसायीको सहभागिता रहेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्