काठमाडौँ, ११ भदौ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले १८ पदाधिकारीसहित पोलिटब्युरो सदस्य छनौटका लागि आज निर्वाचन गर्ने भएको छ ।
सोमबार सम्पन्न केन्द्रीय कमिटी बैठकले सहमतिको प्रयास सफल नभएपछि निर्वाचनको माध्यमबाट पदाधिकारी तथा पोलिटब्युरो सदस्य छनौट गर्ने निर्णय गरेको हो । सोही निर्णयअनुसार पार्टीको निर्वाचन आयोगले मतदाताको नामावली प्रकाशन गरी प्रक्रिया अगाडि बढाएको छ ।
त्यसका लागि आज मंगलबार चुनाव हुँदैछ। सोमबार निकालिएको निर्वाचन तालिकाअनुसार आज बिहान ७ बजेबाट मनोनयन पत्र वितरण हुनेछ।
बिहान साढे सात बजेबाट उम्मेदवारी दर्ता सुरू गर्ने कार्यसूची छ। साढे आठ बजेसम्म उम्मेदवारी दर्ता, त्यसपछि प्रारम्भिक सूची सार्वजनिक, त्यसपछि दाबी विरोध र १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जानकारी दिएको छ। दिउँसो २ देखि पाँच बजेसम्म मतदान र साँझसम्म मतगणना गरिने बताइएको छ ।
गत असार १६ देखि २० गतेसम्म काठमाडौंमा भएको दसौं महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाल निर्वाचित गरेको छ।
२१ पदाधिकारी रहने व्यवस्था भएकामा अब १८ पदका लागि चुनाव गर्नुपर्नेछ। वरिष्ठसहित ७ उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिवका लागि निर्वाचन हुन लागेको हो।
एकीकृत समाजवादीमा ३४४ सदस्यीय केन्द्रीय कमिटी छ।


