गजलको गमक – Kanika Khabar
Tuesday, September 17Nepali News Portal

गजलको गमक

    मा प्रकाशित

प्रकाश के.सी.
गजल साहित्यको एक महत्त्वपूर्ण विधा हो ।यसको जन्म जुन भूगोल , जुन भाषा र जुन कालखण्डमा भए पनि मोतीराम भट्ट नेपाली गजलका पिता हुन् । मोतीराम भट्टले नेपालमा गजल भित्र्याएको धेरै समयपछि पनि गजलको त्यति धेरै विकास र विस्तार हुन सकेन । नेपाली साहित्यमा विभिन्न विधाको विकास र बिस्तार भएपछि मात्र गजल सशक्त भएर आयो र नेपाली साहित्यमा गजलको बिस्तारै बिस्तारै क्षेत्र बिस्तार हुन थाल्यो र गजलकारहरुको बाढी नै आयो। वर्तमान समयमा गजल सबैभन्दा धेरै लेखिने चर्चा परिचर्चा गरिने विधाको रूपमा रहेको छ । यसरी गजल नेपाली साहित्यको उर्वरभूमिको सफल फसल भएको छ। नेपालमा गजललाई यो अवस्थासम्म ल्याउनको लागि विभिन्न अग्रज साहित्यकारहरु, साहित्यिक संघ संस्था तथा साहित्यिक अभियन्ताहरुको महत्त्वपूर्ण भूमिका रहेको छ ।

यो लेखमा गजल लेखनमा योगदान दिने श्रष्टा , गजलको इतिहास , सिद्धान्त र गजल लेखनका बारेमा देखिएका मतभेदको चर्चा गर्न खोजिएको नभई गजल गायन र संगीतको बारेमा केही विचार राख्न खोजिएको छ । साहित्यमा हरेक विधाको आआफ्नो निजी पहिचान र नियम भए जस्तै गजलको पनि आफ्नो बेग्लै सिद्धान्त र लेखन नियम छ र यो गेय विधा पनि भएकोले यसको साइनो संगीतसँग पनि घनिष्ठ हुनु स्वभाविकै हो । जसरी गजल लेखनको हिसाबले अरु विधाभन्दा फरक छ त्यसै गरि यसले माग्ने संगीत र गायकी पनि गीतको भन्दा फरक हुनुपर्छ । अथवा संगीतबद्ध र स्वरबद्ध गरिसकेपछि गजल गीतभन्दा थोरै भएलपनि फरक सुनिनुपर्छ । साथै गजल गायनका लागि प्रयोग हुने वाद्ययन्त्र (बाजाहरु) पनि गीतको भन्दा फरक हुँदा राम्रो । गजल संगीतको बारेमा थप प्रकाश पार्नु पर्दा संगीतवद्ध गरेर गजल गाउन सर्वप्रथम उर्दु र हिन्दी भाषाबाट सुरु, गरिएको पाइन्छ । ती भाषाहरुमा गायन गरिएका गजलहरुको अध्यन गर्दा ती समयमा गायन गरिएका गीतभन्दा केही फरक गायन र संगीत भएको पाइन्छ साथै गजल संगीतमा योगदान दिने सर्जकहरुको प्रस्तुतीकरण पनि फरक छ। उर्दु र हिन्दी भाषाका प्रसिद्ध पाकिस्तानी र भारतीय कलाकारहरु अहीद अख्तर , नूर जहन , मेहदी हसन , गुलाम अलि , जगजित सिंह , अनूप जलोटा, हरिहरण, पंकज उधास , मनोहर उधासहरुको गजल संगीतमा धेरै महत्त्वपूर्ण भूमिका रहेको छ। उनीहरुबाट शुरु गरिएको गजल गायनको शैली , लवज , साजबाजको प्रयोग र प्रस्तुति अहिलेको गजल संगीतको जग हो । तर पछिल्लो समयमा नेपाली गजल संगीतले आफ्नो शैली र धारलाई समाउन नसकेको जस्तो लाग्छ । साथै गजल संगीत र गायनमा लाग्ने कलाकारहरु गजल संगीतको मर्म र धर्म नबुझेको जस्तो भान भएको छ। केही मात्रामा आनन्द कार्की , जगदीश समाल , राज सिग्देल शिव परियार जस्ता गायकहरुद्वारा गाइएका गजलहरु गजल जस्ता लाग्छन् ।

वर्तमान समयमा नेपालमा जसरी गजल संगीतवद्ध भएर रेकर्ड हुने क्रम बढेको छ र यो गजलको लागि निकै खुसीको कुरा हो । तर सबै संगीतकारहरुले संगीत भरेको र गायकहरुले गाएका गजलहरु गजल जस्ता लाग्दैनन् । अझ निर्मम भएर भन्नुपर्दा यो समयमा रेकर्ड भएर आएका कतिपय गजलहरुले गजलको नै उपहास गरेको जस्तो लाग्छ। गजल संगीत एउटा बेग्लै शैली हो । गजलको त्यो निजत्वलाई अंगिकार गरेको संरचना विशेषलाई मात्र गजल भनिन्छ । गजलको यो स्वर्ण युगमा गजलप्रतिको मोहले मात्रै पुग्दैन यो विधालाई बिस्तार , विकास र संरक्षण गर्नको लागि गजल संगीतको इतिहास ,गजल संगीतको तत्व र गजलको गमकलाई नजरअन्दाज गर्न मिल्दैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्