लक्ष्मण बस्नेत
२ असोज दाङ ।
दाङको तुलसीपुरमा भोलि बिहिवारदेखि सुरु हुने स्वर्गीय कुबेर बहादुर शाह स्मृति कप खुला पुरुष भलिबल प्रतियाेगिता २०८१ को तयारी पूरा भएको छ ।
नेपाली काङ्ग्रेस तुलसीपुर नगर कार्यसमितिको आयोजना तथा फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुर दाङकाे प्राबिधिक व्यवस्थापनमा अरनिको खेल मैदान तुलसीपुरमा सञ्चालन हुन लागेको प्रतियोगिताको नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य,पूर्व मन्त्री माननीय दिपक गिरीले उद्घाटन गर्ने कार्यक्रम तय भएको नगर सभापति सुरेश हमालले जानकारी दिएका छन् ।
प्रतियोगिताको औपचारिक उद्घाटन कार्यक्रम मध्याह्न १२ बजेका लागि तय गरिएको सभापति हमालले जानकारी दिए ।
तत्कालीन समयमा समग्र राप्ती अञ्चलकै खेलकुदको बिकास र बिस्तारमा अतुलनीय योगदान पुर्याउने खेलकुद क्षेत्रका हस्ती स्वर्गीय कुबेर बहादुर शाहको स्मृति तथा सम्झनामा
नेपालको राष्ट्रिय खेल भलिबलको विकास र प्रवर्द्धनसँगै प्रतिभावान खेलाडीको पहिचान र विकासमा टेवा पुर्याउने मुख्य उद्देश्यका साथ आयोजना गरिएको प्रतियाेगिताको आतिथ्य सत्कार,आर्थिक व्यवस्थापन स्थापन, प्रचारप्रसार, खेल मैदान तथा मञ्च निर्माण लगायतका सबै तयारी पूरा गरिएकोछ ।
३ दिन सम्म चल्ने प्रतियोगितामा दाङ लगायत अन्य जिल्लाका १२ टिमको सहभागिता रहने प्राबिधिक व्यवस्थापनको जिम्मा पाएको फेलोसिप ट्रेनिङ सेन्टरका सञ्चालक राजु एरिले जानकारी दिए ।
प्रतियोगिताको बिजेता टिमले नगद एक लाख पाँच हजार,कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमलाई क्रमशः नगद ६५ हजार र ३५ हजार रुपैयाँ, कप,मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएकोछ ।
त्यस्तै प्रतियाेगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने व्यक्तिगत बिधा तर्फका खेलाडीलाई पुरस्कृत गरिनेछ ।
जसअनुसार बेष्ट प्लेयर हुने खेलाडीले तीन हजार पाँच सय, नगद ,ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै बेष्ट सेटर, बेष्ट सर्भर, बेष्ट स्पाइकर,बेष्ट ब्लकर र बेष्ट लिब्रो लाई क्रमशः जनही दुई हजार पाँच सयका दरले नगद तथा ट्रफी,प्रदान गरिने आयोजक नेपाली काङ्ग्रेस तुलसीपुर नगर कार्यसमितिका सदस्य गोरख वलीले जानकारी दिनु भएकोछ ।
प्रतियोगिताका खेलहरु नकाउट प्रणालीका आधारमा खेलाइनेछ भने खेल तालिका टाईसिट बिहिवार बिहान ९ बजेका लागि तोकिएको आयोजकले जानकारी दिएकोछ ।
यसैबिच आयोजकले भोलि हुने प्रतियोगिताको उद्घाटन समारोहमा उपस्थितिका लागि भलिबल प्रेमी खेलाडी,खेलकुद सम्बद्ध संघ/ संस्था,राजनीतिकदल,पत्रकार लगायत सबैमा हार्दिक अनुरोध गरेकोछ ।