दाङ, १५ असोज ।
लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । १५ महिना उमेरभित्र राष्ट्रिय खोप तालिकाबमोजिम पाउनु पर्ने सबै मात्रा खोप लिएको अवस्थालाई सुनिश्चित गरिएपछि प्रदेशलाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो । लमहीमा सोमवार भएको कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई पूर्णखोप सुनिश्चित भएको घोषणा गरेका हुन् ।
घोषणा गर्दै मुख्यमन्त्री आचार्यले बालबालिकालाई स्वस्थ राख्न खोप सुनिश्चितता कार्यक्रमले सहयोग पु¥याउने बताएका थिए । समयमै आफ्ना बालबालिकालाई सबै प्रकारका खोप लगाउन अभिभावक सचेत बन्नु पर्ने बताएका थिए । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८०÷०८१ रणनीति अनुसार १६ देखि ५९ महिनाका एक ३० शून्य डोजका र दुई हजार तीन सय ४३ खोप लगाउन छुटेका ड्रप आउट बालबालिकालाई खोजी गरेर पूर्णखोप लगाइएको छ । लुम्बिनी प्रदेशमा दुई लाख ६२ हजार आठ सय ५६ जना बालबालिकाले पूर्णखोप पाएको सुनिश्चित गरिएपछि पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गरिएको हो । घोषणा कार्यक्रममा स्वास्थ्य मन्त्री खेम सारुलगायत स्थानीय तहका प्रमुख÷उपप्रमुखको सहभागिता रहेको थियो ।
बालबालिकामा विभिन्न सरुवा रोगविरुद्ध खोप लगाइँदै आइएको छ । क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुस्टङ्कार, हेपाटाइटिस–बी, हेमोफिलस इन्फ्लुएञ्जा–बी, पोलियो, दादुरा, रुबेला, निमोनिया, मेनिन्जाइटिस, जापानी–इन्सेफलाइटिस, टाइफाइड, रोटा भाइरसबाट हुने झाडापखालाबिरुद्ध खोप उपलब्ध गराउदै आइएको हो । नेपालमा २०६९ पुस १४ गते अछाम जिल्लाको भागेश्वर गाउँ विकास समितिबाट पूर्णखोप घोषणा गरी सुरु गरिएको थियो ।
स्वस्थ जीवनशैलीका लागि योजनामा जुट्नुस
दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वस्थ जीवनशैली प्रवर्धन गर्न जनस्वास्थ्यमा देखिएका समस्या समाधानका लागि योजना निर्माण गरेर कार्यान्वयनमा जुट्न निर्देशन दिएका छन् । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा आर्थिक वर्ष २०८०÷०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेश स्तरीय समीक्षा कार्यक्रमलाई सोमवार लमहीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशको प्रमुख स्वास्थ्य समस्याको रूपमा देखापरेको मातृ शिशु मृत्युदर, बाल मृत्युदर, कुपोषण, रक्त अल्पता जस्ता समस्या न्यूनीकरण गर्न ठोस कार्यक्रम बनाएर कार्यान्वयनमा जुट्न निर्देश दिएका हुन् ।
‘विशेष योजना बनाएर समस्या न्यूनीकरणमा लाग्नुस्, कार्यक्रम बनाउनुस्, बढीभन्दा बढी जनचेतना अभिवृद्धिमा केन्द्रित गर्नुस’, मुख्यमन्त्री आचार्यले भने, ‘अर्काे वर्ष मातृ मृत्युदर घटेको हुनु पर्छ, कुपोषणको दर पनि घटेको हुनु पर्छ । बाल मृत्युदर पनि घटेको हुनु पर्छ । पुरानै तथ्याङ्कको समीक्षा गर्ने होइन, उपलब्धि कसरी हासिल गर्न सकिन्छ त्यसमा ध्यान दिनु पर्ने छ ।’ बिरामी तथा तिनका परिवारबाट गुनासो नआउने गरी सन्तुष्ट हुने गरी उपचार सेवालाई प्रभावकारी बनाउन मुख्यमन्त्री आचार्यले निर्देशन दिए ।
सरकारी स्वास्थ्य संस्था तथा अस्पतालको सेवामा सर्वसाधारण नागरिकको सहज पहुँच बढाउन कार्यक्रम बनाउन जोड दिए । ‘पैसा नहुँदा बाँचिन्छ, सरकारले बचाउँछ भन्ने नागरिकमा विश्वास दिलाउनु पर्ने छ’, उनले भने, ‘यसका लागि बिमा कार्यक्रम ल्याइएको हो । स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन जरुरी छ । बिमाबाट उपचार गर्दा दोस्रो दर्जाको नागरिक सरहको व्यवहार गरिएको गुनासो आएका छन् । यसलाई सुधार्न जरुरी छ ।’
स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन मुख्यमन्त्री आचार्यले निर्देशन दिए । अस्पतालमा थन्किएका स्वास्थ्य उपचारकरण बनाउनु पर्ने, सरकारी अस्पतालमा काम गर्ने तर निजी स्वास्थ्य संस्थामा मोह राख्ने जस्ता प्रवृत्ति त्याग्न स्वास्थ्यकर्मीलाई आग्रह गरे । स्वास्थ्यतर्फ देखिएको जनशक्तिको अभाव अन्त्यका लागि प्रदेश सरकारले ओएनएम सर्भे गरेको र त्यो रिपोर्टको आधारमा व्यवस्थापनको काम अघि बढ्ने बताए ।
स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य क्षेत्रलाई सुधार गर्न मन्त्रालयले योजनाबद्ध काम गरिरहेको र त्यसबाट उपलब्धि देखिने अवस्थामा पु¥याइएको बताए । स्वास्थ्य सेवालाई सेवाग्राहीमैत्री बनाउने गरी काम भइरहेको जानकारी दिए । ‘स्वास्थ्य सेवा सबैको पहुँचमा पु¥याउँछौँ । यसका लागि सरकारी स्वास्थ्य संस्था तथा अस्पतालको सेवालाई विशेषज्ञ सेवाको रूपमा अघि बढाएका छौँ’, उनले भने, ‘स्वास्थ्य क्षेत्रमा देखिएका समस्या तथा चुनौतीलाई सम्बोधन गर्ने गरी योजना बनाएर अघि बढेका छौँ ।’
स्वास्थ्य सचिव डा. बासुदेव उपाध्यायले स्वास्थ्य सेवा सुधार गर्न कार्यक्रम कार्यान्वयन गर्ने पद्धतिमा सुधार गर्न सकिन्छ भने त्यसबारे समीक्षा पनि गर्नु पर्ने बताए । स्वस्थ जीवनशैली अपनाउँदै निरोगी प्रदेश बनाउनका लागि कार्यक्रम केन्द्रित गरिएको जानकारी दिए । समीक्षा कार्यक्रममा स्थानीय तहका प्रमुख तथा उपप्रमुखको समेत सहभागिता छ । गाउँपालिका महासंघका अध्यक्ष विष्णुकुमार गिरीले पालिका तहका आधारभूत अस्पताल जनशक्ति र उपकरणको अभावमा सञ्चालनमा आउन नसकेको भन्दै प्रदेश सरकारले अस्पताल सञ्चालनका लागि पहल लिनु पर्ने बताए । स्वास्थ्य निर्देशक डा. विनोदकुमार गिरीको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण कौशल भण्डारीले गरेका थिए ।