काठमाडौँ, १७ असोज ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको जिम्मेवारीमा हेरेफेर गरिएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम केही विभाग प्रमुखको जिम्मेवारी हेरफेर तथा केही विभाग प्रमुख मनोनयन गरेका हुन् ।
पार्टीको संगठन विभाग प्रमुखको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई दिएको छ । यसअघि संगठन विभाग प्रम्खमा पार्टीका महामन्त्री महामन्त्री डा धवलशमशेर राणा रहेका थिए ।
स्थानीय तह परिचालन विभाग प्रमुखमा वरिष्ठ उपाध्यक्ष ध्रुबबहादुर प्रधान, राजनीतिक विभाग प्रमुखमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, पर्यटन विभागको प्रमुखमा सहायक महामन्त्री विजय खड्कालाई जिम्मेवारी दिइएको छ ।
यसैगरी, विपद् व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धब थापा, सूचना प्रविधि विभाग प्रमुखमा केन्द्रीय सदस्य उद्धवराज भेटुवाल र लेखा समितिको प्रमुखमा केन्द्रीय सदस्य केदार न्यौपाने छन् ।
राप्रपाभित्र २०८२ मंसिरमा महाधिवेशन गर्ने चर्चा भएसँगै पार्टीभित्र प्रतिस्पर्धा बढेको छ । राणाले आगामी महाधिवेशनमा लिङ्देनलाई टक्कर दिने तयारी थालेपछि लिङ्देनले संगठन विभाग प्रमुख नै परिवर्तन गरेको बताइएको छ । अघिल्लो महाधिवेशनमा राणाकै बलियो समर्थनमा लिङ्देन अध्यक्ष बनेपनि पछिल्लो समय दुई नेताबिच दूरी बढेको नेताहरू बताउँछन् ।