
एजेन्सी । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले उत्तरी इजरायलमा रहेको आफ्नो एउटा सैन्य आधार शिविरमा भएको ड्रोन आक्रमणमा ४ सैनिकको मृत्यु भएको र ६० भन्दा बढी घाइते भएको बताएको छ ।
हिजबुल्लाहले यस हमलाको जिम्मेवारी लिएको छ ।
उत्तरी इजरायलको हाइफा सहरबाट ३३ किलोमिटर टाढा रहेको बिन्यामिन नजिकैको आधार शिविरमा आक्रमण गरिएको इजरायली रक्षा बल(आइडिएफ)ले जनाएको छ।
हिजबुल्लाहको मिडिया कार्यालयले बिहीबार इजरायली सेनाले दक्षिणी लेबनान र बेरुतमा आक्रमण गरेको जनाएको छ। त्यसको प्रतिक्रियास्वरूप यो ड्रोन आक्रमण गरिएको हो ।
ड्रोन आउनुअघि खतराको संकेत दिने कुनै पनि साइरन नबज्नाले इजरायली सेनाले सुरक्षा मापदण्ड अपनाउने समय नै नपाएको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले खबर लेखेका छन् ।
आईडीएफ प्रवक्ता ड्यानियल हगारीले राति अबेर घटनाको ड्रोन इजरायल प्रवेश गर्दा कुनै चेतावनी साइरन नबजेको बारे अनुसन्धान भइरहेको प्रतिक्रिया दिएका छन् । हगारीले आक्रमणका बारेमा अफवाह नफैलाउन सर्वसाधारणलाई अपिल गर्दै तथ्य संकलन भइरहेको बताएका छन् ।
बिबिसी हिन्दीबाट