मा प्रकाशित
बिहानै ढोकाको दाँया र बाँया साईडमा
कलशले साईत पार्नू
एक चम्चा दहीको अमिलोसँगै
बिर्सिनु सबैसँगका अमिलो सम्बन्धहरु
र हाँसेर बिदा लिनू
हिड्नुपूर्व हेर्नू आमाको चाउरिएको अनुहार
अब यो चाउरिएको अनुहारको प्राण बोकेर जादैँछौ
जो तिमीसँगै बाचेर फर्किनेछ
हेर्नु बाको काँधनेरै उध्रिएको कमिज
यसले तिमीलाई OT गर्न सघाँउने छ
पेटभरि हेर्नू खेलेर हुर्किएको आँगन र घर
अब कति बसन्त देख्न नपाउने हो
यसले चै खै तिम्लाई पर्खिन्छ या पर्खिदैन
जाँदा वरपिपल दाहिने पारेर जानू
भगवान सधैँ दाहिने रहलान्
देउरालीमा चढाउनु पाती र दुबो
कुरेका सम्बन्धहरु ताजै रहलान्
कसैलाई गए है भन्न बाँकी छ कि
कसैलाई हात हल्लाउन बाँकी छ कि
बाटोमा भेट्ने जति सबैसँग मुस्कुराउनू
यही मुस्कानको सहाराले काट्नु छ कति अनिदा रातहरु
सिँगो गाउँको आशीर्वाद बोकेर जानू
बाटोसम्म पछ्याउदै भुक्ने डल्लीलाई पनि नताक्नू लात्ती,
अब तिम्रो घरको सहारा उही त बन्ला
बरु सुम्सुम्याउनु हात फोहोर नहुने गरी र पढ्नू
उसको आँखाको भाका
इमान्दारीका हिसाब नमिल्दा काम आउला
जाऊ अब अबेर नगरी
फर्किदा बा ,आमा र घरको परदेशमा भएको
अलिकति भाग्य बोकेर फर्कनू
अलिकति छरछिमेकमा पनि बाँड्नू
थोरै change हाैला परदेशको माटोमा
Its ok,no problem
आमाको आँखाको भाका पढ्न सक्ने हुनू
बाबाको पसिनाको गन्ध सुँघ्न सक्ने हुनू
डल्लीलाई ज्याकी नभन्नू
राधालाई डार्लिङ नभन्नू
कुनै कुरा मौलिक नै सुहाउँछ
जाँदा खोलाको पानी छोएर जानू
खोलाले पनि कुर्ला
अब भन्न बाँकी के रह्यो र ..?
ए साच्ची तिम्रो २ वर्षे भतिजोलाई सम्झाउनू
३/४ वर्ष तिमी नआउने कुरा
कुनै साँझ नकुरोस् तिम्रो बाटो
जाऊ अब,
कुल्चेर नहिँड्नू
बाटोमा खसेका फूलहरु
फर्कदा तिनैले हरर वासना छर्दै स्वागत गर्लान्
एयरपोर्टमा पुगेर एक थान फोटो खिच्नू
अलिकति रहरले,अलिकति करले
भोलि बेवारिसे हुँदा
त्यही फोटोले देश चिनाउला
नहेर्नू प्लेनको झ्यालबाट बाहिर
देश टाढिदै गएको महसुस होला र झर्ला आँसु
साइतको बेला,रोएको राम्रो होइन
भन्दा पनि नरो भन्ने कोही हुने छैन
ल त कान्छा ,
नमरी बाँचे कालैले साँचे भेट होला आम्दो साल कान्छा,
……..Have a safe journey….. –