तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुँदै – Kanika Khabar
Thursday, November 13Nepali News Portal

तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुँदै

    मा प्रकाशित

काठमाडौँ, ६ कात्तिक ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन काठमाडौंमा गर्ने भएको छ । सम्मेलन आगामी मंसिर १४ र १५ गते होटल हायत रिजेन्सीमा हुने भएको छ ।

यो सम्मेलन शिक्षा क्षेत्रका अग्रणी व्यक्तित्वहरू, विद्यालयका संस्थापक प्रिन्सिपल, शैक्षिक निर्देशक र अग्रणी शिक्षकहरूका लागि लक्षित रहेको प्याब्सनले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

विद्यालयको स्तर उन्नति, कक्षा कोठाको सुधार, शैक्षिक नेतृत्वको विकास र शिक्षक–विद्यार्थीको शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउने उपायहरूको खोजी गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको प्याब्सनका अध्यक्ष डिके ढुंगानाले बताउनुभएको छ । उहाँले सम्मेलनमा विद्यालय व्यवस्थापन, शिक्षक प्रशिक्षण र शैक्षिक नृतृत्वको सुदृढीकरणसम्बन्धमा महत्वपूर्ण सुझाव लिइने जनाउनुभयो ।

अन्तर्राष्ट्रिय स्तरको शिक्षा नेपालमै प्रदान गरी नेपालबाट बाहिरिने विद्यार्थी रोक्न र नेपाललाई विदेशी विद्यार्थीको शैक्षिक गन्तव्य बनाउन निजी क्षेत्रको प्रयास निरन्तर रहेको प्याब्सनले जनाएको छ ।

‘नेपाली अभिभावकले छोराछोरीलाई विद्यालय शिक्षाका लागि विदेश लैजानुपर्ने बाध्यता हटेको छ,’ प्याब्सनका अध्यक्ष ढुंगानाले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘सरकारले निजी क्षेत्रको शैक्षिक संस्थाहरूको प्रयासअनुसार साथ दिएमा आउने दश वर्षभित्र हजारौं विदेशी विद्यार्थी नेपाल पढ्न आउने वातावरण निर्माण हुनेछ । त्यसतर्फ पनि यो सम्मेलन लक्षित गरिएको छ । नीति निर्माण तहले ग्लोबलाइजेसनलाई बुझ्न जरुरी छ । हामी नेपालीपनसहितको आधुनिक शिक्षा प्रवद्र्धन गर्ने लक्ष्य प्राप्तिमा हरपल जुटिरहेका छौं ।’

सम्मेलनमा नेपाल, भारत, बंगलादेश, भुटान, पाकिस्तान, श्रीलंका, भियतनामलगायत मुलुकका शिक्षाविदहरू तथा शिक्षाकर्मीहरूको सहभागिता रहनेछ । दुई दिने सम्मेलनमा १२ वटा भन्दा बढी सेसन सञ्चालन हुनेछन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्