घोराही,९ कात्तिक ।
दाङको घोराही ७ सौडियार स्थित श्री माध्यमिक बिद्यालय सौडियारले विद्यालयमा कक्षा ११ र १२ सञ्चालन भएको भए पनि दरबन्दी नपाएपछि पठनपाठनमा समस्या भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईले मावि तह कक्षा ११र १२मा अहिलेसम्म एउटा पनि दरबन्दी नरहेको र मावि तहमा पनि विद्यार्थी संख्या अनुसार अपुग दरबन्दी धेरै रहेकाले घाटामा कक्षा ११ र १२ को पढाइ सञ्चालन गर्न गाह्राे भइरहेको बताए । विद्यालयकै जनशक्तिलाई कक्षा ११ र १२ को पढाइमा लगाउँदा पनि चलनचल्तिको पारिश्रमिक दिन नसकिएको, आफ्नो श्रमको कम पारिश्रमिक लिएर शिक्षकले पढाइरहेको र केही शिक्षकहरु पठनपाठनको लागि बाहिरबाट ल्याउनुपर्ने अवस्थामा माथिल्लो तहमा पठनपाठन सन्चालन गर्न गार्हो परिरहेको विद्यालयका प्रधानाध्यापक नन्दबहादुर वलीले बताए । दरबन्दी थप्न पटक-पटक वडा कार्यालय हुँदै घोराही नगर प्रमुखसँग माग राख्दा पनि सुनुवाई नभएको उनले गुनासो गरे । आफूहरुले खाई नखाई गरेर मेहनतपुर्बक कक्षा ११ र १२ सञ्चालन गरिरहेको अवस्थामा पनि राज्यका जनप्रतिनिधिले मेहनतको कदर नगरिदिएकोमा दुख ब्यक्त गरे ।
मावि तहमा दरबन्दी थपिएको अवस्थामा कक्षा ११ र १२ को पढाइ पूर्णरुपमा कुनै पनि अभिभाबकबाट सहयोग शुल्क नलिई चलाउन सकिने र राज्यले सहयोग नगरेको अवस्थामा कक्षा नै बन्द गर्नुपर्ने अवस्था आउन लागेको शिक्षक अभिभावक संघका अध्यक्ष लोकबहादुर कुवरले बताए ।
कक्षा ११ र १२ सञ्चालन गर्दा वार्षिक रुपमा अभिभाबकबाट सहयोग शुल्क बाफत ४ लाख रुपैयाँ मात्रै उठ्ने र खर्च ९ लाख बढी हुने भएकाले कक्षा ११र १२ काे खर्च धान्न नसक्ने अबस्थामा विद्यालय पुगेको विद्यालयका प्रअ वलीले बताए ।
घोराही ७ का वडा अध्यक्ष खोपिराम चौधरीले वडा नम्बर ७ भित्र कक्षा ११ र १३ सञ्चालन हुने मावि सौडियार मात्रै रहेकाले वडाको गौरबको लागि भए पनि स्रोत जुटाउन र दरबन्दी थप्न घोराही उपमहानगर प्रमुखसँग कुरा राख्ने बताए ।