दाङ, ९ कार्तिक ।
चिकित्सा शिक्षा आयोग काठमाडौंले ३७ जना एमबिबिएस पढ्ने विद्यार्थीलाई भर्नाको लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ । आयोगले कलेज म्याचीङ गर्दै पुर्ण छात्रवृत्तिमा एमबिबिएस पढ्ने विद्यार्थीलाई भर्नाका लागि पठाएको हो । विद्यार्थी भर्नाको तयारी प्रतिष्ठानले गरिसकेको प्राध्यापक रजिस्ट्रार श्याम लम्सालले बताए । यसवर्षबाट प्रतिष्ठानमा एमबिबिएस पढाइ सुरु हुने भएपछि छात्रवृत्तिमा पढ्ने विद्यार्थीहरु आउन लागेका हुन ।
चिकित्सा शिक्षा आयोगले एमबिबिएस पढाइ सञ्चालनका लागि ५० सिट सुनिश्चित गरेको छ । जसमा ७५ प्रतिशत छात्रवृत्तिमा विद्यार्थीले एमबिबिएस पढ्न पाउने रजिष्ट्रार लम्सालले बताए । उनका अनुसार ४ जना बिदेशी र ९ जनाले पेइङमा एमबिबिएसमा पढन पाउने छन । आयोगबाट आउने नामावली अनुसार भर्ना हुनेछन ।
प्रतिष्ठानले करिब ७ वर्षपछि एमबिबिएस पठनपाठनका लागि आयोगबाट अनुमति पाएको हो । हाल प्रतिष्ठानमा बिएस्सी र बिएनएस नर्सिङ र चिकित्सकको एमडीको पठनपाठन भइरहेको छ । अब एमबिबिएस पढ्नकै लागि जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने भएको छ । “एमबिबिएस पढाइ सञ्चालन गर्ने कुरा धेरै महत्त्वपूर्ण कुरा हो”, उनले भने, “दाङको चिकित्सा शिक्षामा यसले ठुलो र महत्वपुर्ण अर्थ राख्छ, दाङकै आर्थिक, सामाजिक विकासमा शैक्षिक कार्यक्रम सुरुवातले कोसे ढुङ्गा सावित हुनेछ ।”
यसअघि लामो समय शैक्षिक कार्यक्रम सुरु नहुँदा जिल्लामा व्यापक आवाज उठ्ने गरेको थियो । तर, अब वर्षेनी शैक्षिक कार्यक्रम थपिन थालेपछि जिल्लामा उत्साह थपिएको छ । राप्ती उपक्षेत्रीय अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइएको हो ।