विद्यालयको विकासको लागि महायज्ञ – Kanika Khabar
Thursday, November 14Nepali News Portal

विद्यालयको विकासको लागि महायज्ञ

    मा प्रकाशित

दाङ, १४ कात्तिक ।

विद्यालयको सुधार तथा विकासका लागि श्रीमद्भागवत् ज्ञानमहायज्ञ सञ्चालन गर्न थालिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको आधारभूत विद्यालय गिठेपानीले विद्यालयको सर्वाङ्गीण विकासका लागि श्रीमद्भागवत् ज्ञानमहायज्ञ सञ्चालन गर्न थालेको हो । महायज्ञ मूल आयोजक समितिले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो जानकारी दिएको हो ।

कार्तिक २३ देखि ३० गतेसम्म महायज्ञ सञ्चालन गरिने विद्यालयले जनाएको छ । विद्यालयमा मावि तह सञ्चालन, खेलकुदका सामग्री खरिद, भौतिक पूर्वाधर निर्माण, अक्षयकोष स्थापना गर्ने उद्देश्यले महायज्ञको आयोजना गर्न लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश वलीले जानकारी दिए । ‘हामीले गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक सामग्री खरिद गर्ने तथा पूर्वाधार विकासका लागि महायज्ञ सञ्चालन गर्न लागेका छौँ’, वलीले भने । विद्यालयको अन्य आम्दानीको स्रोत नहुँदा दाताको भरकै विद्यालय सञ्चालन गर्नु पर्ने बाध्यता रहँदै आएको छ । यसमा सबैको सहयोग रहने उनले बताए । आम्दानीको स्रोत नहुँदा विद्यालय सञ्चालनमा समस्या हुँदै आएको अध्यक्ष वलीले बताए ।

विद्यालयमा विद्यार्थीको सङ्ख्या वृद्धि भए पनि साधन स्रोतको कमीका कारण स्रोत जुटाउन महायज्ञको आयोजना गर्न लागिएको विद्यालयका प्रधानाध्यापक गिरिप्रसाद भट्टराईले जानकारी दिए । स्रोत व्यवस्थापन गरेर विद्यालयको विकासमा काम गरिने उनको भनाइ छ । विद्यालय अहिले पनि दाताहरूको सहयोगबाट चलिरहेको उनले बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय निवर्तमान अध्यक्ष विपुल पोख्रेलले विद्यालयको विकासका लागि गर्न लागिएको महायज्ञमा सञ्चार क्षेत्रको सहयोग रहने बताए । सामाजिक विकास विकासलगायतका क्षेत्रमा सञ्चार क्षेत्रले सहयोग गर्दै आएको पोख्रेलले बताएका थिए । महायज्ञबाट सङ्कलन भएको रकम प्राथमिकता निर्धारण गरेर खर्च गर्न उनले सुझाएका थिए । महायज्ञका कथावाचक पं अमृतशरण देवाचार्यले विद्यालयको विकासका लागि भएकाले महायज्ञसँग आफू जोडिएको बताए ।

आप्mनै ठाउँको विद्यालयको विकासका लागि आफू सहभागी हुन लागेको भन्दै सबैमा सहयोग गर्न उनले आग्रह गरे । महायज्ञ सञ्चालनका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वलीको संयोजकत्वमा ९९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । महायज्ञलाई व्यवस्थित बनाउनका लागि विभिन्न उपसमिति गठन गरिएको छ । मूल आयोजक समिति तथा उपसमितिले आ–आप्mनो जिम्मेवारीको काम सुरु गरेको आयोजकले जनाएको छ । महायज्ञ सबैको सहयोगमा सफल हुने आयोजकले अपेक्षा गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्