आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपाल अमेरिकासँग ३७ रनले पराजित – Kanika Khabar
Tuesday, December 10Nepali News Portal

आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपाल अमेरिकासँग ३७ रनले पराजित

    मा प्रकाशित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको छ । यसअघि पहिलो खेलमा पनि अमेरिकासँग नेपाल ३ विकेटले पराजित भएको थियो ।

जितका लागि २८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९।५ ओभरमा २४४ रन बनाउँदै अल आउट भयो । ओपनर अनिल साहले ८० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५२ रन जोडे ।

अर्का ओपनर आसिफ शेखलाई ६ रनमा आउट भए । जसदीप सिंहको बलमा उनी बोल्ड भए । दोस्रो विकेटका लागि अनिल र कुशल भुर्तेलले ७१ रनको साझेदारी गरेका थिए ।

भुर्तेल २९ रनमा बोल्ड आउट भए । त्यसपछि कुशल मल्ल ५४ बलमा १ चौका र १ छक्कासहित ३३, कप्तान रोहित पौडेल १, गुल्सन झा १२ र आरिफ शेख २१ रनमा क्याच आउट भए ।

यस्तै सोमपाल कामीले २७ बलमा ४ चौका र २ छक्कासहित ४६ रनको आक्रामक इनिङ खेले । दीपेन्द्रसिंह ऐरीले ३८ बलमा १ चौका र १ छक्कासहित ३१ रन बनाए ।

अमेरिकाका सौरभ नेत्रवालकरले ९।५ ओभरमा १ मेडनसहित ४७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।

त्यसअघि ग्राण्ड पेरी क्रिकेट रंगशाला डालसमा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो ।

अमेरिकाका युवा ब्याटर साइतेजा मकामल्लाले ८७ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिए ।

नेपालका गुल्शन झाले १० ओभरमा ८७ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले समान २ तथा कुशल भुर्तेलले १ विकेट लिए ।

नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । नेपालले अमेरिका भ्रमणमा अन्तिम खेल स्कटल्यान्डसँग सोमबार खेल्नेछ ।

नेपाल लिग २ मा ११ खेल खेल्दै २ मा जित र ८ मा हारसहित ५ अंक जोडेर सातौं स्थानमा छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्