काठमाडौँ, २२ कात्तिक ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गरेका छन् । शुभकामना सन्द्येश जारी गर्दै अध्यक्ष प्रचण्डले मानव जीवन कृषि युगमा प्रवेश गरेपछि उत्पादित कृषिजन्य उपज र परिकारहरूको खुसीयाली एवम् कृषि युगको निरन्तरताको प्रतीकका रूपमा सूर्यको आराधना गरी छठ पर्वको परम्परा सुरुवात भएको बताएका छन् ।
शुभकामना
नेपालको तराई–मधेशमा उदाउँदो सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठ पर्वका अवसरमा तराइबासी जनसमुदायका साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
मानव जीवन कृषि युगमा प्रवेश गरेपछि उत्पादित कृषिजन्य उपज र परिकारहरूको खुसीयाली एवं कृषि युगको निरन्तरताको प्रतीकका रूपमा सूर्यको आराधना गरी छठ पर्वको परम्परा सुरुवात भएको मानिन्छ । छठ पर्व प्रकृति र मानव जीवनबीच जीवन्त व्यवहारिक सम्बन्ध स्थापित गर्ने पर्वका रूपमा समेत स्थापित छ । यस पर्वले प्रकृति र मानवबीचको सम्बन्ध जीवन्त तुल्याउनका साथै जीवनोपयोगी प्राकृतिक वस्तुहरूको सम्मान एवं संरक्षण, उत्पादन एवं श्रम संस्कृतिको विकासका निम्तिसमेत महत्वपूर्ण भूमिका खेल्दछ । नेपालका विविध संस्कृति र पर्वहरु क्रमशः सम्पूर्ण नेपालीका साझा संस्कृति र परम्परा बन्दै गएका छन् । छठ पर्व पनि सम्पूर्ण नेपालीहरुकै आम पर्वको रुपमा मनाउन थालिएको छ ।
छठ पर्वले चुनौतीहरूलाई अवसरमा बदल्न, व्यक्तिगत एवं सामाजिक जीवनमा आशाको रक्तसञ्चार भर्न, राष्ट्रलाई एकताबद्ध तुल्याउँदै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको बाटोमा अघि बढ्न हामी सबैलाई प्रेरणा मिल्ने विश्वासका साथ सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
२२ कार्तिक, २०८१
नेपाल संवत्ः ११४५ कछलाथ्वः ६
पुष्पकलमल दाहाल ‘प्रचण्ड’
(अध्यक्ष)
नेकपा (माओवादी केन्द्र), केन्द्रीय कार्यालय