घोराही । घोराही नगर अन्तर स्कुल प्रथम हप्किडो प्रतियोगिताको शिल्ड गोरखा इन्टरनेशनल पब्लिक मावि घोराहीको गोरखा डोजाङले प्राप्त गरेको छ ।
गोरखा डोजाङले सर्वाधिक १७ स्वर्ण पदकसहित जीत हासिल गरेको हो । प्रतियोगिताका संयोजक विशाल थापाको अध्यक्षतामा खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव तिरणराज गौतमले विजेतालाई शिल्ड प्रदान गर्नुभएको थियो । यसैगरी सात स्वर्णसहित मेचीकाली सेकेन्डरी स्कुल घोराहीको मेचीकाली डोजाङले द्वितीय स्थान हासिल गरेको छ । तीन स्वर्णसहित मावि डाँडागाउँ गोग्लीको गोग्ली डोजाङले तृतीय स्थान हासिल गरेको छ ।
प्रतियोगितामा महिलातर्फ १६ र पुरुष १६ गरी ३२ पदकमा प्रतिस्पर्धा गराइएको थियो । गोरखा इन्टरनेशनल स्कुलको आयोजना र नेपाल हाप्कीडो संघ र जिल्ला खेलकुद विकास समिति दाङको सहकार्यमा शुक्रबार र शनिबार प्रतियोगिता भएको थियो । प्रतियोगितामा उत्कृष्ट खेलाडी महिलातर्फ मेचीकालीकी बबिता पुन र पुरुषतर्फ गोग्ली डोजाङका अनमोल रोका क्षेत्री बन्नुभएको छ । उत्कृष्ट प्रशिक्षक पुरुषतर्फ गोरखा डोजाङका शरद पौडेल र महिलातर्फ मेचीकाली स्कुलका एलिसा खड्का बन्नुभएको छ । विद्यालयतर्फ उत्कृष्ट डोजाङ गोरखा इन्टरनेशनल पब्लिक स्कुल घोराही भएको छ ।
यसैगरी उत्कृष्ट रेफ्री महिलातर्फ सिर्जना तामाङ र पुरुषतर्फ लक्ष्मण खाती बन्नुभएको छ । उत्कृष्ट डेमोस्टेशनमा प्रथम गोरखा डोजाङ, द्वितीय मेचीकाली र तृतीय न्यु भिजन डोजाङ भएका छन् । विजेतालाई प्रमाणपत्र, मेडलले सम्मान गरिएको थियो । विजेता खेलाडीलाई गोरखा स्कुलका प्रिन्सिपल मानसिंह घर्ती मगर, घोराही नगर प्याब्सनका सचिव वालकृष्ण वलीलगायतका अतिथिहरुले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन प्रवीण गुरुङले गर्नुभएको थियो ।