बाँसको सामग्री बिक्रीबाट जीवन धान्दै – Kanika Khabar
Monday, December 9Nepali News Portal

बाँसको सामग्री बिक्रीबाट जीवन धान्दै

    मा प्रकाशित

नारायण खड्का
तुलसीपुर, ९ मङ्सिर ।

बबई गाउँपालिका(७ मलई गाउँ निवासी ४६ वर्षीय वीरबहादुर परियार र ४५ वर्षीया श्रीमती सावित्री परियार घरमा छिटुवा, डोको र डालो बन्दै परिवारको खर्च जुटाउने काम गर्दछन् । वीरबहादुरले सानै उमेरमा बुवाबाट छिटुवा, डोको, डालो बुन्न सिकेका थिए । नौ वर्षको उमेरदेखि बुवाका पछि लागेर दाङका बस्तीहरूमा सामान बेच्नका लागि हिडेका बीरबहादुर बुवाको मृत्युपछि सामान आफै बनाउनेखि बिक्री गर्दै आएका छन् । उनलाई श्रीमती सावित्रीले सामान बोकेर सँगै हिँड्न साथ दिएकी छिन ।

दुबै जना करिव एक दशक बढी समयदेखि बाँसका सामान बनाउने र बेच्ने काम गर्दै आएका छन् । सावित्रीले चोया काढ्न, भाटा तिखार्न अनि छिटुवा र डोको बुन्न सक्ने भएपछि साना छोराछोरी घरमा आमाका साथमा छाडेर श्रीमान–श्रीमतीले बेच्न हिँड्न थालेको बताउँछिन् । कहिलेकाहीँ साता–दस दिनमा मात्र फर्किन्थे । आफ्ना सामान धानमा साट्थे, नगदमा बेच्थे । बीरबहादुरले सावित्रीको प्रशंसा गर्दै भने, ‘काम सिकेपछि मभन्दा छिटो बुन्न सक्ने भई । आजकाल त कसले छिटो बुन्ने भनेर बाजी पो हुन्छ ।’ दुई जना मिलेर एकै दिनमा १५ वटासम्म छिटुवा बुने गरेका उनीहरू डोकोलगायतका अन्य घरका लागि आवाश्यक सामग्र पनि बनाउने गरेको बताउँछन् ।

वीरबहादुर भन्छन्, ‘दुबै जना बराबरी काम गर्न जान्ने भएपछि सजिलो र रमाइलो भएको छ। कमाइ पनि ठिकै छ ।’ एउटा छिटुवा साढे दुई सयदेखि तीन सय रुपैयाँसम्ममा बिक्री हुन्छ । सामग्री बनाउनका लागि गाउँमै बास किन्ने गरेको बताउँछन् । बास साढे एक सयदेखि साढे दुई सय रुपैयाँसम्म पर्ने गरेको भन्दै बिरबहादुरले बासको चोया काढेर आवश्यकता अनुसार छिटुवा, डोको र डालो बुन्ने गरेको बताउँछन् । उनका अनुसार एउटा बाँसबाट चार वटासम्म छिटुवा बन्छन् ।

वीरबहादुरले आफ्ना बुवाबाट चोयाका सामान बुन्न सिके, सावित्रीले श्रीमान वीरबहादुरबाट सिकेर अहिले घर परिवारको खर्च जुटाउने माध्यम बनाएका छन् । सावित्रीले छिटुवा बुन्न थालेको १० वर्ष भयो। छिटुवा, डोको र डालो बुन्न सिकेर श्रीमानलाई काम सघाउन पाएकोमा सावित्री खुसी भएको बताउँछिन । दुई जनाको कामले कमाइ राम्रै भएको भन्दै सावित्री भन्छिन, ‘यो छिटुवा नबुने कसरी बाँच्ने, के खाने, छोराछोरी कसरी पाल्ने ? छिटुवा, डोको र डालो बुनेर बिक्री गर्दा आएको पैसाले परिवारको खर्च टर्ने गरेको छ ।’ परियार दम्पतीको आफ्नो जग्गा छैन । बाजेका पालादेखि नै चार कठ्ठाजति ऐलानी जग्गा छ । त्यही जग्गामा गहुँ, मकै र तोरी खेती गर्ने गरे पनि बाँके राष्ट्रिय निकुञ्जबाट आउने जनावरले अन्नपात हुर्कनै दिदैनन्, बचेको अन्नले चार महिना पुग्दैन ।’

परियार दम्पत्तिका दुई छोरी र दुई छोरा छन् । एक छोरा र एक छोरीले बाह्र कक्षासम्मको पढाइ पूरा गरेका छन् । अर्की एक छोरीले आठ कक्षासम्म पढिन् । जोठा छोरा गत वर्ष चैतदेखि जाजरकोटमा वन रक्षकको जागिरमा छन् । सात वर्षीय कान्छा छोरा दुई कक्षामा पढ्दै छन् । घरखर्चसँगै छोराछोरीको पढाइ खर्च पनि बाँसका सामान बेचेरै जुटाउने गरेको सावित्री बताउँछिन् ।

सावित्राले भनिन्, ‘हामी आमाबुवा जेजस्ता भए पनि डोकाडाला बुनेर दुई छोराछोरीलाई १२ कक्षासम्म पढायौं । हामी गरिबले यति गर्नु पनि ठूलै काम हो जस्तो लाग्छ ।’ गाउँमा दश कक्षासम्म मात्रै पढाइ हुने स्कुल छ । छोराछोरीले एघार र बाह्र कक्षा दाङमा भाडामा बसेर पढ्नुपर्ने अवस्था छ । मलई बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र हो । निकुञ्जका जनावर बँदेल र बाँदरले बालीमा क्षति पु¥याउँछन् । रातभरि टौवामा बरेर बाली जोगाउनु पर्ने स्थानीयलाई बाध्यता छ ।

‘कहिले त जति रखवाली गरे पनि हुँदैन । बाँदर र बँदेलको बथान आएर स्वाहा पारिदिन्छन् । जति होहल्ला गरे पनि भाग्दैनन् । नजिक गए बँदेलले आक्रमण गर्ने डर हुन्छ’, सावित्री भन्छिन्, ‘सरकारले बाघ पाल्न खोजेपछि हामीलाई गाह्रो भयो ।’ गाउँमा बाघले मान्छे नमारे पनि कहिलेकाहीँ बाख्राहरू मार्ने गरेको बताइन । निकुञ्जका जनावरले दुःख दिएको हुँदा सरकारले आफ्नो गाउँ अर्को सुरक्षित ठाउँमा सारिदिए हुन्थ्यो भन्ने लाग्छ । जनावरको सास्ती मात्र होइन, निकुञ्जको सुरक्षार्थ खटिएका सेनाले समेत दुःख दिने गरेको उनको गुनासो छ ।

उनका अनुसार पहिले गाउँका मानिस मलई खोलामा माछा मार्थे । आजकाल सेनाले माछा मार्न त के, एउटा ढुङ्गो समेत उठाउन दिँदैन । जङ्गल नजिकै छ तर गाउँलेले सानोतिनो काठ पनि पाउँदैनन् । मलईका बासिन्दा वडा कार्यालय पुग्न दुई घण्टा हिँड्नु पर्छ । सामाजिक सुरक्षा भत्ताका लागि तीन सय रुपैयाँ भाडा तिरेर हापुरे पुग्नु पर्ने बाध्यता छ ।

जिल्लाको सबैभन्दा विकट मलई तुलसीपुर बजारबाट करिब ३० किलोमिटर पश्चिममा रहेको छ । मलईमा मोबाइल फोनको कुनै पनि नेटवर्कले काम नगर्ने गरेको वीरबहादुर बताउँछन् । स्थानीयवासीले १४ दिन श्रमदान गरेर गत वर्ष हिउँदमा आमखोलीबाट पानी ल्याए, घरघरमा खानेपानीको धारा पु¥याएपछि सहजता भएको बताउँछन । सहरी क्षेत्रबाट दुर्गममा पर्ने भएकाले मलई गाउँले ‘दाङको कर्णाली’ उपनाम पाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्