खेलाडी र खेलप्रेमी उत्साहित, मैदानको दुरदसा – Kanika Khabar
Monday, December 9Nepali News Portal

खेलाडी र खेलप्रेमी उत्साहित, मैदानको दुरदसा

    मा प्रकाशित

बालाराम खड्का
तुलसीपुर, ९ मङ्सिर ।

तुलसीपुरको अरनीको मैदानमा चौथो हिरा डाँगी स्मृति कप फुटबल प्रतियोगिता खेलप्रेमीहरूको उत्साहजनक सभागिताका साथ सम्पन्न भयो तर मैदानको दुरदसा देख्दा भने खेलाडी र खेलप्रेमीका मन खिन्न भयो ।

मङसिर १ गतेबाट सुरु भएको प्रतियोगिता ८ गतेसम्म भव्यका साथ सञ्चालन भयो । खेल हुने बेला मात्र अरनीको मैदानको स्तोरोन्नतिको कुरा उठे तापनि पछि–पछि सेलाउँदै जान्छ । ‘अरनीको मैदानमा हुने खेल हेर्न हामीलाई धुलोसँग सामना गर्नुपर्छ, त्यही धुलो छल्न अर्काको घरको छतबाट खेल हे¥यौँ र हेर्छौँ’, स्थानीय किरण खड्काले भने । उनी जस्तै धेरै खेलाडीले अरनीको मैदानलाई मिनी रङ्गशाको रूपमा स्तरोन्नति गरिनु पर्ने धारणा राख्छन् । केही समय पहिले पनि लुम्बिनी प्रदेश तेक्वान्दो संघले प्रदेश भरिका झन्डै आठ सय खेलाडी अरनीको मैदानमा भेला गरायो । तुलसीपुरमा अघिल्लो वर्ष पनि अरनीको मैदानमा यस्तै उत्साहका साथ हिरा डाँगी कप र प्रदेशस्तरीय खेल विधाका प्रतियोगिता सफल भएका थिए ।

तुलसीपुरको मुटुमा रहेको अरनीको मैदान बजार क्षेत्रको हाताभित्र पर्ने एक मात्र खेल मैदान भए पनि यसको विकासमा कसैको चासो भने देखिएको छैन । तुलसीपुरको प्रतिष्ठा र इज्जतसँग जोडिएको मैदानमा शौचालय समेत छैन । यहाँ विभिन्न खेलकुद गतिविधि तथा विभिन्न कार्यक्रम भइरहेका हुन्छन् । तुलसीपुरको मुटुमा रहेको यो खेल मैदानमा खेलकुदका लागि आउने खेलाडी होउन् या अफिसियल्स या अन्य कुनै कार्यक्रममा सहभागिता जनाउने विशिष्ट अथिति सबै शौचलाई शौच गर्नुपरे अन्यत्र जानु पर्ने समस्या छ । शौचालयका लागि होटेल वा रेस्टुँरामा जानु पर्ने बाध्यता छ । मैदानमा दर्शकका लागि बसेर हेर्ने व्यवस्थित ठाउँ समेत मैदानमा छैन । खेल प्रेमी खेल हेर्न पुग्दा मैदानको छेउमा सकी नसकी उभिएरै खेल हेर्न बाध्य हुन्छन् ।

यहाँका स्थानीय निकाय र जनप्रतिनिधिले अरनीको मैदानको स्तरोन्नतिमा चासो नदेखाएको गुनासो खेल हेर्न आएका दर्शकले गर्छन् भने मञ्चबाट नेता र अगुवाहरूले आश्वासनका पोका बाँडिरहेका हुन्छन् । विसं २०२८ सालमा खेलकुद विकासका लागि भनेर अरनीको मैदान बनाइएको थियो । उतिखेर उत्तर कुनामा मञ्च र व्यवस्थित शौचालय निर्माण गरिएको थियो । पछि त्यो बेवारिसे जस्तै बन्यो । त्यको शौचालय कसैले प्रयोगमा ल्याएनन् भने सरसफाइ पनि नपाएको सौचालय र मञ्च जीर्ण अवस्थामा पुग्यो ।

अन्ततः अरनीको मैदानमा निर्मित मञ्च र शौचालय भत्काइएको थियो । त्यसपछि मैदानको पूर्वी–दक्षिण कुनामा शौचालय बनाइएको थियो, त्यो पनि बेवारिसे बन्न पुग्यो । यतिखेर शौचालयविहीन अरनीको मैदानले तुलसीपुरबासी र जनप्रतिनिधिलाई गिज्याइरहेको छ । अरनीको मैदानको स्तरोन्नतिका लागि पटक–पटक सामाजिक अगुवाबाट सम्बन्धित निकायको ध्यानाकर्षण नगराएका होइनन् । ध्यानकर्षण गराउँदा पनि कसैले चासो नदेखाएपछि तैँ चुपमैचुपको स्थिति भएको खेलप्रेमीहरू बताउँछन् ।

यसैबिच तुलसीपुर बजारको केन्द्रमा रहेको एक मात्र खेल मैदान अरनीको मैदानको संरक्षण र भौतिक पूर्वाधार निर्माणका लागि तुलसीपुर उद्योग वाणिज्य संघले पहल थाल्ने भएको छ । दसकौँदेखि विकासको पर्खाइमा रहेको अरनीको मैदानमा आवश्यक पूर्वाधार निर्माण गर्न तुलसीपुर उपमहानगरपालिकासँग सहकार्य गरेर अघि बढने निर्णय भएको वाणिज्य संघका अध्यक्ष बिनिल केसीले बताए । ‘खेल क्षेत्रमा मेरो पनि रुचि छ र विभिन्न कार्यक्रममा म आफैँ त्यहाँ गएर बोलेको पनि छु’, अध्यक्ष केसीले भने, ‘शौचालयविहीन अरनीको मैदानले साच्चिकै सबैलाई गिज्याइरहेको छ ।’

वाणिज्य संघको बैठकमा अध्यक्ष केसीले अरनीको मैदानको स्तरोन्नतिको विषयमा चासो देखाएका थिए । तुलसीपुर उद्योग वाणिज्य संघको बैठकमा अध्यक्ष केसीले अरनीको मैदानमा शौचालय नुहँदा खेलको विकासमा असर पुगेको तथा खेलाडीले प्रत्यक्ष रूपमा असहजता भोग्नु परेको हुँदा मैदानको विकासका लागि सबैको सहयोग आवश्यक रहेको कुरा औल्याएका थिए । तत्काल अरनीको मैदानमा आवश्यक पर्ने शौचालय, स्टेज र चेन्जिङ रुम निर्माण गर्न पहल थाल्ने महासचिव केशवराज केसीलाई जिम्मेवारी दिने निर्णय वाणिज्य संघको बैठकले गरेको छ । निवर्तमान अध्यक्ष रामप्रसाद चालिसे, पूर्व अध्यक्षहरू बिमल रिजाल, वीरबहादुर रावत (वीरु) लगायतको उपस्थिति रहेको बैठकले यस्तो निर्णय गरेको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्