महेश बस्नेत
घोराही, २७ मङ्सिर ।
तेस्रो प्याब्सन घोराही रनिङ शिल्ड २०८१ बिहिबारदेखि घोराही उपहानगरपालिका वडा नं. १८ नवलपुरस्थित खेल मैदानमा सुरु भएको छ । निजी विद्यालयहरुको छाता संगठन प्याब्सन घोराही नगर कमिटीको आयोजनामा सञ्चालन भइरहेको रनिङ सिल्डको तेस्रो संस्करण तीन दिनसम्म सञ्चालन हुनेछ ।
उद्घाटन सत्रमा बोल्दै घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा कुमारी डिसीले सामुदायक र निजी विद्यालयहरुलाई एउटै फोरममा राख्ने नीति राज्यले लिनुपर्ने बताउनुभयो । राज्यको लगानीबिनाका निजी बिद्यालयहरुले विद्यार्थीहरुको क्षमता विकासमा ठुलो योगदान दिएको उल्लेख गर्दै राज्यले सामुदायीक र निजी विद्यालयहरुलाई समानरुपमा हेर्नुपर्ने उपप्रमुख डिसीले बताउनुभयो ।
निजी विद्यालयका विद्यार्थीहरुप्रति प्रशंसा गर्दै उपप्रमुख डिसीले विद्यार्थीहरुको अनुुशासन, व्यवहार र प्रतिभा देख्दा आफुलाई गर्व महशुस भएको उल्लेख गर्नुभयो । उपप्रमुख डिसीले घोराही उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रमा पनि विद्यार्थीहरुका अतिरिक्त क्रियाकलापलाई जोड दिएको उल्लेख गर्दै प्याब्सन घोराहीले गर्ने क्रियाकलापहरुमा नगरपालिकाको सदैव साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमकी प्रमुख अतिथि समेत रहनुभएकी उपप्रमुख डिसीले बालबालिकाहरुको क्षमता विकासमा अभिभावकहरुको भूमिका महत्वपूर्ण रहने भन्दै अभिभावकले आफ्ना बालबालिकाका क्षमता र प्रतिभालाई उजागर गर्न प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । उहाँले बालबालिकाहरुको रुचिलाई सम्बोधन गर्दै सहि बाटोमा लाग्न प्रेरित गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि प्याब्सन केन्द्रीय कार्यसमितिका सचिव यादव गिरीले प्याब्सन घोराहीले रनिङ शिल्डको आयोजना गरि खेलाडी उत्पादन गर्न उत्कृष्ट र महत्वपुर्ण कार्य गरेको भन्दै प्रशंसा गर्नुभयो । गिरीले विद्यार्थीहरुलाई समयको महत्व, अनुशासन, सहकार्य र सकारात्मक पक्षहरुको आत्मबोध गर्ने अवसर रनिङ सिल्ड प्रदान गरेको बताउनुभयो ।
प्याब्सन घोराही नगर कमिटीका अध्यक्ष बालकृष्ण ओलीको अध्यक्षता एवम् घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यमा आयोजित रनिङ सिल्डको उद्घाटन सत्रमा शिक्षा तथा खेलकुद समन्वय इकाइ दाङका प्रमुख तिलकराम बन्जाडे शुभकामना व्यक्त गर्नुभएको थियो । यसैगरी, घोराही उपमहानगरपालिकाका प्रवक्ता राममणी पाण्डे, घोराही उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख नारायण प्रसाद पौडेल, प्याब्सन घोराहीका प्रमुख सल्लाहकार बिरेन्द्र चन्द , खेलकुद विकास समिति घोराहीका संयोजक नरेन्द्र पुन र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले शुभकामना व्यक्त गर्नुभएकोे थियो । प्याब्सन घोराहीका उपाध्यक्ष एवम् रनिङ सिल्डका संयोजक मानसिंह घर्ती मगरको स्वागत मन्तव्यबाट सुरुभएको उद्घाटन कार्यक्रमको सहजिकरण सचिव बिमल भण्डारीले गर्नुभएको थियो ।
विद्यार्थीहरुद्वारा सलामी अर्पण
प्याब्सन घोराही नगरद्वारा सञ्चालित रनिङ सिल्डको उद्घाटन सत्र प्रारम्भमा ग्यालेक्सी एकेडेमीका खेलाडी बिद्यार्थीहरुले घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा कुमारी डिसीलाई सलामी अर्पण गरेका छन् । कार्यक्रमकी प्रमुख अतिथि समेत रहनुभएकी डिसीलाई विद्यार्थीहरुले परेडसँगै सलामी अर्पण गरेका थिए । यसैगरी, घोराही उपमहानगरपालिका भित्र सञ्चालित प्याब्सनमा आवद्ध निजि विद्यालयहरुका विद्यार्थीहरुले घोराही बजारका विभिन्न स्थानबाट झाँकीसहित विशाल ¥याली सुरु गरेका थिए । ५ हजार भन्दा बढि विद्यार्थीहरुको सहभागिता रहेको ¥यालीमा कार्यक्रम स्थलमा पुगि सम्पन्न भएको थियो । सहभागी विद्यालयका विद्यार्थीहरुले कार्यक्रम स्थलमा परेड तथा नृत्य प्रस्तुत गरेका थिए ।
पहिलो दिन २ खेल सम्पन्न
प्याब्सन घोराही नगरद्वारा सञ्चालित प्याब्सन घोराही रनिङ सिल्ड २०८१ को पहिलो दिन बिहीबार सम्पन्न जुनियरतर्फको ६० मिटर दौडमा छात्रतर्फ बिद्यानिलकण्ठ स्कुल घोराहीका रमिल कामी प्रथम, सिद्धार्थ एकेडेमी घोराहीका नविन र्चौधरी द्वितीय र गोरखा स्कुलका रविशन गिरी तृतीय भएका छन् । यसैगरी छात्रातर्फ बालकुञ्ज स्कुलका सबिना बिसी प्रथम, राप्ती स्कुलका बर्षा जिसी द्वितीय र ज्योतीपुञ्ज घोराहीकी रितु चौधरी तृतीय भएकाछन् ।
बिहिबार सम्पन्न सिनियरतर्फ १०० मिटर दौडमा छात्रतर्फ गोरखा स्कुलका बिपिन लम्साल प्रथम, हिन्दु बिद्यापिठका शिशिर बेल्बासे द्वितीय र सिद्धार्थ एकेडेमीका संयोग डाँगी तृतीय भएकाछन् । यसैगरी, छात्रातर्फ मदन भण्डारी स्कुलकी रचना चौधरी प्रथम, शान्ति निकेतनकी युना चौधरी द्वितीय र डिभाइन एकेडेमीकी संगिता सुनार तृतीय भएकाछन् । अधिकांश खेलहरु शुक्रबार बिहान १० बजेदेखि सुरु गरिने आयोजकले बताएकाछन् ।
मा प्रकाशित