काठमाडौँ, २ माघ ।
नेकपा माओवादी केन्द्रको आह्वानमा विपक्षी दलहरूको बैठक सम्पन्न भएको छ । बैठक आज बिहान सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको थियो ।
बैठकले हिउँदे अधिवेशन बोलाउन सरकारलाई आग्रह गरेको छ । सरकारले अधिवेशन नबोलाएर अध्यादेश मार्फत स्वेच्छाचारी ढङ्गबाट चल्न थालेकाले विपक्षी दलको बैठक बसेको र छलफल भएको माओवादी नेता वर्षमान पुनले जानकारी दिएका छन् । ‘सरकारले अधिवेशन नबोलाएर अध्यादेश मार्फत अगाडि बढ्न खोजे विपक्षी दलहरुले विशेष अधिवेशनक माग गर्ने सहमति भएको छ ।’ नेता पुनले बताए ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, राप्रपाका बुद्धिमान तामाङ, प्रभु साह, महेन्द्रराय यादव, नारायणकाजी श्रेष्ठ , वर्षमान पुन लगायतका नेताहरु सहभागी थिए ।