कविता : एउटा बुढो रुखको आत्मकथा – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

कविता : एउटा बुढो रुखको आत्मकथा

    मा प्रकाशित
म एउटा बुढो रुख
यतिबेला,
पढिरहेछु आफ्नै आत्मकथा
कुनैबेला बलिया थिए मेरा हाँगाहरू।
नानीहरू तिनै हाँगामा खेल्थे र रमाउँथे
परपर पुगेर
जराहरूले आफैं पानी खान्थे
आफैं उमार्थे सगुनका हरिया पातहरू।
भरियाहरू मेरै छहारीमा सुस्ताउँथे
र,सुखको सपना देख्थे।
हुरीहरू हारेर जान्थे
पानीहरू भिजेर जान्थे।
फूलहरू देखेर रमाउँथे चराहरू
उसैगरी नानीहरू फूल बन्न खोज्थे।
शुभकामनाका पंचपालाहरूमा
सजिन्थे तिनै फूलहरू।
यतिबेला
आफ्नै आत्मकथा पढिरहेछु।
मन्द हावापनि भारीभारी लाग्छ।
बादलपनि चिसोचिसो लाग्छ।
सुस्ताएर सुखको सपना देख्न
आउँदैनन् कुनै भरियाहरू।
कपडा बनाएर लगाउँथे नानीहरूले पात
र,लाज जोगाएको अभिनय गर्थे।
अचेल म आँफै नाँगिएको छु
र,लाज बोकेर उभिएको छु।
हिम्मत हारेको छैन
हो,हिम्मत हारेकै छैन।
एकदिन
फेरि उम्रनेछु।
फेरि फुल्नेछु।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्