घोराही । दाङ महिला जेसीजले मानव कल्याण समाज सेवा घरमा बस्दै आएकाहरुका सहयोगार्थ खाद्यान्न, लत्ताकपडा र सरसफाइ सामग्री हस्तान्तरण गरेको छ ।
दाङ महिला जेसीज वर्ष २०२५ की अध्यक्ष अनिता ढकालको अध्यक्षता तथा घोराही उपमहानगरपालिका–१० का वडा अध्यक्ष दीपक पाण्डेको प्रमुख आतिथ्यतामा शनिबार मानव कल्याण समाज सेवा घरमा बस्दै आएकाहरुका सहयोगार्थ खाद्यान्न, लत्ताकपडा र सरसफाइ सामग्री हस्तान्तरण गरिएको हो ।
सो अवसरमा वडा अध्यक्ष पाण्डेले मानव सेवाको पवित्र काममा जुटेको मानव कल्याण समाज सेवा घरलाई सबैको साथ चाहिएको बताउनुभयो ।
विभिन्न कारणले सडकमा पुगेकाहरुको उद्धार गरि आश्रय दिँदै आएको सेवाघरमा बस्दै आएकाहरुको जीवन सहज बनाउन हरेक नागरिक जोडिनुपर्ने बताउनुभयो । सामाजिक कामलाई महत्त्व दिएर दाङ महिला जेसीजले गरेको सहयोग सराहनीय रहेको बताउनुभयो । मानव समाजकी संस्थापक अध्यक्ष सुमी मानवले मानवताको सेवामा जुट्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
नाना, खाना र छानाविहिनहरुको अभिभावकत्व लिएर सेवा प्रदान गरिरहेको संस्थाको दिगोपन दिन सबैले साथ दिनुपर्ने बताउनुभयो । अहिले दाङ शाखामा ४ महिनाकी शिशुदेखि ९० वर्षसम्मका ५२ जना बस्दै आएको भन्दै उनीहरुको जीवनयापन सहज बनाउन दाङ महिलाा जेसीजले आवश्यक सामग्री सहयोग गरेर राम्रो काम गरेको बताउनुभयो । फजुल खर्च कटौती गरेर मानवताको सेवामा जुट्नसमेत उहाँले अपिल गर्नुभयो ।
यस्तै, मानव कल्याण समाज सेवा घरमा बस्दै आएकाहरुको सहयोगार्थ यही माघ १७ गतेदेखि दाङको घोराहीमा हुन लागेको श्रीमदभागवत ज्ञान विज्ञान महायज्ञ सफल बनाउनसमेत सबैलाई आग्रह गर्नुभयो । उहाँले दाताको भरमा चलेको सेवाघरको दिगोपनाका लागि महायज्ञको अभियान दाङबाट थालनी गर्न लागेको बताउँदै यो अभियान सबै शाखा रहेका जिल्लामा पनि गर्ने जानकारी गराउनुभयो ।
कार्यक्रममा दाङ महिला जेसीजकी पूर्व अध्यक्ष निरजा पोख्रेल, गोरक्ष राष्ट्रिय दैनिकका प्रकाशक सुलोचना गौतमलगायत बोल्नु भएको थियो । दाङ महिला जेसीजकी उपाध्यक्ष माया चौधरीको आस्थापाठ तथा उपाध्यक्ष प्रज्ञा स्वर्णकारको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण महासचिव भीमा डिसीले गर्नुभएको थियो ।