घोराही । घोराही उपमहानपलिका वडा नम्बर १७ चौघेरास्थित मनकामना इङ्लिस सेकेन्डरी स्कुलले आफ्नो २२ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । कार्यक्रममा विद्यालयका प्रिन्सिपल बालकृष्ण वलीको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि घोराही उपमहानगरपालिकाकी उपमेयर हुमा कुमारी डिसी रहनुभएको थियो । उहाँले विद्यार्थीहरूको शैक्षिक विकासका लागि विद्यालयले पुर्याएको योगदानको प्रशंसा गर्दै नगरपालिकाबाट शिक्षा क्षेत्रलाई निरन्तर सहयोग गर्ने बताउनुभएको थियो ।
विशिष्ट अतिथिका रूपमा प्याब्सन दाङका अध्यक्ष निर्मल कुमार न्यौपाने, वडा नम्बर १७ का वडा अध्यक्ष रामलोटन चौधरी, प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष बिरेन्द्र चन्द, र समाजसेवी मनिराम खनाल लगायतका व्यक्तित्वहरूको उपस्थिति थियो । त्यस्तै, स्थानीय विद्यालयका प्रिन्सिपलहरू र प्याब्सन घोराही नगर कमिटीका पदाधिकारीहरू समेत कार्यक्रममा सहभागी भएका थिए ।
अभिभावकहरूको उत्साहजनक उपस्थिति रहेको कार्यक्रममा विद्यालयका क्रियाकलापहरू अवलोकन गर्दै विद्यार्थीहरूको प्रगति र विद्यालयले प्रदान गरेको अवसरप्रति खुशी रहेको व्यक्त गरेका थिए । कार्यक्रममा विद्यालयद्वारा आयोजित खेल सप्ताहमा प्रथम, द्वितीय, र तृतीय स्थान हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई प्रमाणपत्र र मेडलले सम्मान गरिएको थियो । साथै, अनुशासनमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई समेत अनुशासन पुरस्कार प्रदान गरिएको थियो ।
विद्यार्थीहरूले नेपाली लोकसंस्कृतिको झल्को दिने नृत्य, गीत, र विभिन्न साङ्गीतिक प्रस्तुतिहरू प्रस्तुति गरेका थिए । विद्यालयका प्रिन्सिपल बालकृष्ण वलीले विद्यालयको प्रगतिपथ र आगामी योजनाहरूका बारेमा जानकारी गराउँदै विद्यार्थीहरूको गुणस्तरीय शिक्षाका लागि विद्यालयले आफ्नो प्रयासलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।