दाङ, २० माघ ।
लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता चौधरी शर्माले सरकारले शिक्षालाई प्राथमिकतामा राखेर काम गरेको बताएकी छिन् । दाङको घोराहीस्थित मदन भण्डारी मेमोरियल स्कुलको २२ औ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा बोल्दै मन्त्री शर्माले लुम्बिनी प्रदेश सरकारले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताएकी हुन् ।
कार्यक्रम प्रमुख अतिथि समेत रहेकी मन्त्री शर्माले भनिन्, ‘प्रदेश सरकारले शिक्षालाई उच्च प्राथमिकतामा राखेको छ । लुम्बिनी प्रदेशलाई शैक्षिक हबका रूपमा विकास गर्ने सरकारको योजना रहेको छ । शैक्षिक क्षेत्रमा सरकारले प्राथमिकताका साथ लगानी लगाउँदै आएको छ । शिक्षा क्षेत्र नर्जै सर्वाङ्गीण विकास हो । सबै क्षेत्रको विकासको आधार भनेको शिक्षा क्षेत्र हो । शिक्षा क्षेत्रको उन्नयनले नै समृद्ध प्रदेश निर्माण हुन सक्छ ।’
‘हामीले विकास खोजिरहेका छौँ । विकास भनेको भौतिक निर्माण मात्र अवश्य होृइन । प्रदेशवासीको जीवनस्तर, जीवनशैली, चेतना तथा ज्ञान पनि विकासका आधार स्तम्भ हुन् । हाम्रा संस्कार र संस्कृति पनि विकासकै आयाम हुन् । विकासका यी सबै आयामलाई शिक्षाले नै जोड्छ । शिक्षा क्षेत्रको लगानी भनेको विकासको मूल आधार हो ।’ मन्त्री शर्माले बताइन् ।
कार्यक्रमका घोराही उपमहानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष रामलौटन चौधरी , प्याब्सन दाङका सचिव आदिम केसी, बुद्धिजीवी तथा शिक्षाप्रेमी हरिप्रसाद पाण्डे, लुम्बिनी प्रदेश क्वान्किदो संंघका अध्यक्ष तथा १७ नम्बर वडा खेलकुद समिति अध्यक्ष दुर्गा खत्री, अभिभावक रेवन्ता पुन, समाजसेवी रामप्रसाद चौधरी, शिक्षक अभिभावक संघका अध्यक्ष बाबुराम चौधरी, गुठियार खडानन्द खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले विभन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा एक सातासम्म सञ्चालन भएको खेलकुद प्रतियोगिताका विजेता, अतिरिक्त क्रियाकलापका विजेतालाई प्रमाणपत्र, मेडल एवम् पुरस्कार प्रदान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । विद्यालयका सहप्राचार्य तारा चौधरी को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कक्षा नौमा अध्ययनरत विद्यार्थीहरु सोफिया खत्री र बिपिन चौधरीले गरेका थिए ।