घोराही, २२ माघ।
घोराही स्थित जनज्योति विद्यामन्दिरले आधारभूत विद्यालय हापुर गुर्जेका शिशु कक्षादेखि कक्षा ८ सम्म अध्ययन गर्ने १६८ जना विद्यार्थीहरूलाई एक कार्यक्रमका बीच शैक्षिक सामग्रीहरू वितरण गरेको छ।
विद्यालयको आसन्न वार्षिक उत्सव तथा अभिभावक दिवस २०८१ को अवसरमा गत माघ १८ गतेदेखि विभिन्न साहित्यिक सांस्कृतिक तथा खेलकुदका कार्यक्रमहरू भइरहेको विद्यालयले जनाएको छ। यसैबीच समुदायसँग जनज्योति कार्यक्रम अन्तर्गत हापुर गुर्जेस्थित आधारभूत विद्यालयमा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गरिएको छ। आधारभूत विद्यालय हापुर गुर्जेका प्रधानाध्यापक चामुकुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उक्त विद्यालयका शिक्षकहरू जितबहादुर बि.क. र बुद्धि आचार्यले यस प्रकारका कार्यक्रमहरुले विद्यार्थीहरूको पढाइ लेखाईलाई थप उर्जा मिल्ने मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको औचित्यको बारेमा प्रकाश पार्दै जनज्योति विद्यामन्दिर सञ्चालक समितिका अध्यक्ष योगेन्द्रराज न्यौपानेले विद्यालयले समुदाय स्तरमा सेवा, सहयोग र चेतना अभिवृद्धि गर्ने विभिन्न कार्यक्रमहरू गरिरहेको र आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाउनुभएको थियो।
आधारभूत विद्यालय गुर्जेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलबहादुर डिसीले आभार व्यक्त गर्दै जनज्योति विद्यामन्दिरको यस यस कार्यक्रमलाई मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो। विद्यार्थीहरुलाई यस्ता प्रकारका कार्यक्रमहरुले थप हौसला मिल्ने र शैक्षिक सुधारमा टेवा पुर्याउने साथै जनज्योति विद्यामन्दिरको आसन्न वार्षिक उत्सवको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा जनज्योति विद्यामन्दिरका प्रिन्सिपल दिव्य अधिकारी र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश कुमार शर्माले मन्तव्य दिनुभएको थियो भने कार्यक्रमको सहजीकरण सञ्चालक समितिका सदस्य जीवनकुमार आचार्यले गर्नुभएको थियो।