थम्मन निर्दोषी बस्नेत
मेरो मस्तिष्कमा
त्यो पल गढेको छ
जब मेरा कलिला हातले
कलम अड्याउन नसक्दा
मेरो गुरूले प्रेरणाका स्पर्शमा
मलाई बेर्दै बेदाग कागजभरि
मेरै कर्मको क
लेख्न सिकाउनुभएको
मैले भुल्नै नसक्ने
आवाजमा दोहोर्याएर बोल्न
लगाउनुभएको
म राम्रो ‘म’ र ज्ञानी ‘ज्ञ’
थाहा छैन आज म
कर्मको ‘क’ कोर्दै गर्दा
ज्ञानी भएर राम्रो म
बन्न सकेँ वा सकेनँ
तर आज
गुरू बनेँ कि शिष्य बनेँ
छुट्ट्याउन सकेको छैन
म गुरू कि तिमी गुरू
मैले तिमीलाई गुरू मान्छु
किनकि तिमीले मलाई
मुस्कुराउन सिकायौ
तिमीले मलाई जिन्दगी बुझायौ
मैले त केवल तिमीलाई
वर्णहरुको यात्रा मात्र गराए
तिमीले त मलाई शब्द शब्द मिलाएर
निश्चल, निष्कपट अनि निर्दोष बन्ने
पूरै वाक्य सिकायौ, हरफ सिकायौ
त्यो भन्दा पनि अझ
सिङ्गो जीवन गाथा सिकायौ
अब भन त
म गुरू कि तिमी गुरू
मैले त तिमीलाई
प्रतिस्पर्धा गर्न सिकाएँ
सबैलाई जितेर अघि हिँड्न सिकाएँ
गणित, विज्ञान र भूगोलका
पत्रपत्र रटाएँ
सानो र ठुलोमा फरक देखाएँ
धनी र गरिबमा सिमा लगाएँ
बुज्रुक र मूर्खमा पर्खाल उठाएँ
तर तिमीले त मलाई
जात, वर्ण, उमेर, भाषा, भेष,
लिङ्ग, पेसा केही नछुट्टयाई
आत्मियता साट्न सिकायौ
मैले तिमीलाई
कुटिल बन्न सिकाइ नै रहेँ
दुनियाँलाई पछि पारेर
तिमी प्रथम हुन सिकाएँ
म ठुलो भन्ने भ्रममा
बाँच्न सिकाएँ
मजस्तै सोच्न सिकाएँ
मेरै भाषा बोल्न सिकाएँ
मेरै जीवन बाँच्न सिकाएँ
मैले जस्तै कृत्रिम हासो
हास्न सिकाएँ
तिमी भने मलाई
स्वतन्त्रता सिकायौ
विभेदरहित बिचार सिकायौ
थोपा थोपा खुसी लिन सिकायौ
मान्छे भएर मान्छेकै गन्ध
कायम राख्न सिकायौ
सबैको दुःख आफ्नो झै बाँड्न सिकायौ
आफ्नो खुसी अरूको झै साट्न सिकायौ
आंशिक मानव जगतलाई
सच्चिकै पूर्ण मान्छे बन्न सिकायौ
अब भन
गुरू तिमी कि म ?