दाङ,२३ फागुन ।
चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि न्यु होराइजन स्पोट्र्स क्लब र मणीमुकुन्द भलिबल क्लब भिड्ने भएका छन् ।
शुक्रवार भएको सेमिफाइनलका खेलमा न्यु होराईजनले रोयल सिस्ने क्लब रुकुम पूर्वलाई १ का विरुद्ध ४ र मणिमुकुन्द भलिबल क्लबले ओली वंश समाज दाङलाई सून्यका बिरुद्ध ३ सेटले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन ।
बेष्ट अफ फाइभका आधारमा भएको खेलमा २६–२४ ले न्यु होराइजन विजयी हुँदा दोस्रो सेटमा भने २५–२३ ले रोयल सिस्ने क्लवले जित निकालेको थियो । तर तेस्रो र चौथो सेटमा भने न्यु होराईजनले लगातार २५–१९ र २५–२० का साथ विजयी हासिल गर्दै फाइनलमा स्थान कायम गर्न सफल भएको थियो ।
दोस्रो सेमिफाइनल खेलमा ओली वंंश समाजलाई २५–१९, २५–१८ र २५–१८ को सोझो सेटमा पराजित गर्दै मणिमुकुन्द भलिबल क्लब फाइनल प्रवेश गरेको छ । प्रतियोगितामा तेस्रो स्थानका लागि रोयल सिस्ने र ओली वंश समाज दाङकाबीच खेल शनिवार विहान ९ बजे हुने भएको छ भने फाइनल खेल दिउँसो २ बजे हुने आयोजक नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का विकास समाजका संयोजक राजु आचार्यले जानकारी दिएका छन् ।
फागुन २० गतेदेखि सञ्चालन भएको खेलमा १० टिमको सहभातिगा रहेको थियो । प्रतियोगितामा प्रथम हुने टिमले नगद दुई लाख ५१ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुने टिमले नगद एक लाख २५ हजार र तेस्रो हुने टिमले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गर्ने खेलाडीलाई समेत पुरस्कृत गर्ने कार्यक्रम रहको आयोजक नेपाली कांग्रेस दाङले जनाएको छ ।