मेयर चाैधरीलाई लेखे वडाध्यक्ष पाण्डेले खुला पत्र – Kanika Khabar
Sunday, April 27Nepali News Portal

मेयर चाैधरीलाई लेखे वडाध्यक्ष पाण्डेले खुला पत्र

    मा प्रकाशित

दाङ, २ चैत ।
दाङकाे घाेराही उपमहानगरपालिकाका मेयर नरूलाल चाैधरीलाई वडा नम्बर १५ का वडाध्यक्ष रमेश कुमार पाण्डेले खुला पत्र लेखेका छन् । वडाध्यक्ष पाण्डेले आज शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत खुला पत्र लेखेका हुन् ।

खुला पत्रमा वडाध्यक्ष पाण्डेले मेयर चाैधरीले आफूलाई कुनै कार्यक्रममा अनपढ वडाध्यक्ष भनेकाे पनि खुलाएका छन् । खुलापत्रमा वडाध्यक्ष पाण्डेले उपमहानगरपालिकाले गरेकाे कर बृद्धिकाे घुमाउरो ढङ्गले बिराेध गरेका छन् ।

यस्तो छ खुला पत्र

आदरणीय घोराही नगर प्रमुखलाई घोराही-१५ को वडा अध्यक्ष तर्फबाट खुला पत्र

आदरणीय नगर प्रमुखज्यू,

हजुरसँग सात वर्षको सहयात्रा गरियो। कहिल्यै पनि नगर प्रमुखलाई असफल बनाउने प्रयास गरिएन। हाम्रो सोच जहिले पनि नगर प्रमुख सफल भए, हामी पनि सफल हुन्छौं भन्ने उद्देश्यका साथ अघि बढियो।

नगर प्रमुखले गरेका हरेक निर्णयमा हातमा हात, साथमा साथ मिलाएर अघि बढियो। नगर प्रमुखको विश्वासले गर्दा कतिपय कुरामा अध्ययन नै नगरी नजरअन्दाज गरिएको हुन सक्छ। त्यसका लागि आम नगरवासीसँग माफी चाहन्छु।

तर, नगर प्रमुखको एउटा कार्यक्रममा हजुरको अभिव्यक्ति सुनेपछि मौन बस्न सकिनँ। हजुरले कसैलाई इङ्गित गर्दै “गेरु बस्त्र लगाएर अनशन बसेका व्यक्तिको स्कुलमा नर्सरीको फिस ७५ हजार छ” भनेर भन्नुभएको थियो।

के साँच्चै नगर प्रमुखज्यू?
१३७% कर वृद्धि हजुरले कुन-कुन ठाउँमा गर्नुभएको छ?

घोराही-५ को रज्ज, मनाम्री, बसेरी

घोराही-१९ को समग्र सैघा

घोराही-१२ को गुरौं र चाचिला

के साँच्चै यी क्षेत्रका नानीबाबुहरू हजुरले इङ्गित गर्नुभएको स्कुलमा पढ्छन् ? हजुरले भनेझैँ ती क्षेत्रका नागरिकहरूको आर्थिक स्थिति वृद्धि भएको हो त?

यदि साँच्चिकै आर्थिक स्तर वृद्धि भएको हो भने हजुरलाई धन्यवाद दिन्छु। होइन भने, हजुरको अभिव्यक्ति सच्याउनुपर्ने हुन्छ। नभए, ती क्षेत्रका नागरिकको आर्थिक स्तर यति वृद्धि गर्नुपर्छ कि उनीहरू नर्सरीमै महिनाको ७५ हजार शुल्क तिर्न सकून्।

धन्यवाद।
उहीँ कुनै कार्यक्रममा हजुरले “अनपढ” भनेका
घोराही-१५ वडा अध्यक्ष रमेश कुमार पाण्डे

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्