प्रिया स्मृति गजमेर
लमही,४ चैत ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य योगेन्द्र चौधरीले जातको नाम बेचेर राजनीति गर्ने प्रवृत्तिबाट मुक्त हुन सबैलाई आग्रह गरेका छन् । नेपाली कांग्रेस गढवाले आइतवार आयोजना गरेको तेस्रो गाउँपालिका सम्मेलनलाई सम्वोधन गर्दै नेता चौधरीले जात तथा पहिचानको नाममा राजनीति गरेर व्यक्तिगत फाइदा लिने र समाजलाई विभाजित गर्ने कार्यबाट टाढा रहन सवैलाई आग्रह गरेका हुन ।
राष्ट्रिय हितलाई प्राथमिकता दिँदै समावेशी लोकतन्त्रलाई मजबुत बनाउन सबैलाई एकजुट हुन आह्वान गर्दै कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य चौधरीले व्यक्तित्व, क्षमता र विचारको आधारमा राजनीति गर्नुपर्नेमा जोड दिएका थिए । उनले नेपाली कांग्रेसलाई अझ सशक्त, संगठित र जनमुखी बनाउन कार्यकर्ता, नेता तथा समर्थकहरूबीच एकता आवश्यक रहेको बताए । कांग्रेसको सुदृढीकरणले मात्र मुलुकमा स्थायित्व, समावेशीता र समृद्धिको मार्ग प्रशस्त गर्ने नेता चौधरीको धारणा थियो ।
सम्मेलनलाई सम्वोधन गर्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले कांग्रेस बलियो बनाउने विषयमा नेता–कार्यकर्ता गम्भीर बन्नुपर्ने बताए । गुटउपगुटले पार्टीलाई कमजोर बनाउने भन्दै प्रदेश सभापति पुनले भने,‘हामी कांग्रेस बलियो बनाउनुपर्छ भनेर हिँड्छौं, तर नतिजा किन शून्य आउँछ? यसबारेमा गम्भीर छलफल गरेर संगठन निर्माणमा अघि बढ्न आवश्यक छ ।’ उनले क्रियाशील सदस्यता समयमा नवीकरण गर्नुपर्ने र कांग्रेसले विगतमा देशको नेतृत्व गर्दा भएका उपलब्धिहरू जनतालाई स्मरण गराउनुपर्ने बताए ।
नेपाली कांग्रेस दाङका सभापति शंकर डाँगीले संगठन निर्माणका लागि इमानदार रुपमा सवै नेता तथा कार्यकर्ताहरु लाग्नुपर्ने बताए । पार्र्टीको जिम्मेवारीमा रहेका सम्पूर्ण नेता तथा कार्यकर्ताले इमानदारिताका साथ पार्टीका लागि काम गर्न सके संगठन सशक्त, चलाएमान बन्ने र त्यसे निर्वाचनमा पार्टीलाई सहयोग पुग्ने बताए । सम्मेलनमा बोल्ने अन्य बक्ताहरुले पार्टी संगठन निर्माणका व्यक्तिगत चाहनाभन्दा माथि उठेर पार्टीका लागि काम गर्नुपर्ने, पार्टीलाई निती र सिद्धान्तको आधारमा अघि बढाउनुपर्ने, पार्टीवाट निर्वाचित जनप्रतिनिधि र पार्टीकाविचमा निरन्तर समन्वय गर्दै विकास निर्माणका लागि काम गनुपर्नेमा जोड दिएका थिए ।
नेपाली कांग्रेस गढवा गाउँपालिका सभापति किरण पौडेलको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस दाङका सचिव अर्जुनकुमार योगी, नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ का सभापति भेषराज पाण्डे, महासमिति सदस्य जानकीलाल बस्नेत, क्षेत्र नम्बर १ प्रदेश ‘क’ का सभापति श्रीपत चौधरी, प्रदेश ‘ख’ का सभापति दिनेश गिरी, पूर्व क्षेत्रीय सभापति वासुदेव जंगली, महाधिवेशन प्रतिनिधि अनुराग यादव, गढवा गाउँपालिका वडा नं. ५ का सभापति देवराज कवँरलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सम्मेलनमा सचिव पोषणराज शर्माले सांगठनिक तथा कोषाध्यक्ष पटवारी यादवले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा छलफल गरि सुझावसहित पारित गरिएको थियो । सम्मेलनको सहजीकरण सचिव पूर्णप्रसाद चौधरीले गरेका थिए ।