काठमाडौँ,४ चैत्र ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापा नेपाल प्रहरीको ३१ औं महानिरीक्षक बन्ने लगभग पक्का भएको छ । अन्य दुई प्रतिस्पर्धीलाई पछि पार्दै थापा प्रहरी प्रमुख बन्ने पक्का भएको स्रोतले बताएको हो । आज दिनभर कुनै कुनै नाटकीय परिवर्तन नभए थापा नेपाल प्रहरीको नेतृत्वमा पुग्ने निश्चित भएको स्रोतको दाबी छ।
एआइजीमध्ये जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा थापालाई आइजीमा नियुक्त गर्न लागिएको हो । गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले प्रहरीको महानिरीक्षक नियुक्त गर्छ ।मन्त्रिपरिषद्को बैठकले मेरिट लिस्टका आधारमा आइजीपी नियुक्त गर्नेछ । जसमा थापाको नै सम्भावना रहेकाे छ ।
आजदेखि रिक्त हुने प्रहरी महानिरीक्षकमा आजै बस्ने क्याबिनेट बैठकले तीन जना एआइजीमध्येबाट एक जनालाई नियुक्ति गर्दैछ । वरिष्ठता, कार्यकुशलता र कार्यक्षमतालाई ध्यानमा राखेर सरकारले दीपक थापालाई प्रहरी संगठनको जिम्मेवारी दिने सम्भावना बलियो देखिँदै छ । थापासँगै अन्य दुई जना एआइजी सुदिप गिरी र टेकबहादुर तामाङ पनि प्रतिस्पर्धी हुन् ।
आजदेखि महानिरीक्षक बसन्तबहादुर कुँवरसहित नौ जना उच्च अधिकृतहरुले एकैसाथ अवकाश पाउँदै छन् । अतिरिक्त महानिरीक्षकहरु टेकप्रसाद राई, कुवेर कडायत, बुद्धि गुरुङ, दुर्गा सिंह र जनक भट्टराई पनि आजैदेखि अवकाशमा जान लागेका छन् ।
डिआईजीहरु गणेश चन्द, भोला रावल र ध्रुवराज राउत पनि आजका मितिदेखि अनिवार्य अवकाशमा जाँदै छन् ।