घोराही, ६ चैत ।
राप्ती बबई क्याम्पस तुलसीपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापतीमा विद्यार्थी संघका उम्मेदवार प्रमोद भण्डारी बिजयी हुनुभएको छ । स्ववियु निर्वाचनमा खसेको एक हजार ४१७ मतमध्ये ७३७ मत प्राप्त गर्दै नेपाल विद्यार्थी संघका उम्मेदवार प्रमोद भण्डारी स्ववियु सभापतिमा विजयी हुनुभएको छ ।
निर्वाचन अधिकृत दिपक पौडेलका अनुसार सभापतिमा निर्वाचित भण्डारीका निकटतम प्रतिष्प्रर्धी संयुक्त विद्यार्थी प्यानलका लेखमणी खत्री (लक्ष्मण) ले ३८९ मत प्राप्त गर्नुभएको छ । पराजित खत्री नेविसंघका विद्रोही हुन । खत्रीलाई अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायतका विद्यार्थी संगठनहरुको समर्थन रहेको थियो ।
यसैगरी स्वतन्त्र उम्मेदवार कोमलबहादुर वली (केबी) ले १३७ मत र अर्का स्वतन्त्र उम्मेदवार कृष्ण केसी (डेभिड) ले २९ मत प्राप्त गर्नुभयो । सचिवमा नेविसंघकै टोपबहादुर वली ६१२ मतका साथ निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिष्प्रर्धी संयुक्त विद्यार्थी प्यानलकी सोनिया थापाले ५६५ मत प्राप्त गर्नुभएको छ । सचिव पदका स्वतन्त्र उम्मेदवार अंकिता डाँगीले ५७ मत मात्रै प्राप्त गर्नुभयो ।
कोषाध्यक्षमा नेविसंघकै शिक्षा नेपाली ५६२ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिष्पर्धी सयुक्त प्यानलका तिलकराज डाँगीले ४४७ मत प्राप्त गर्नुभयो । स्वतन्त्र उम्मेद्धवार आषिक मियाँले ९५ मत प्राप्त गर्नुभएको छ ।
स्ववियु सदस्यमा दिलिप शर्माबाहेक बाँकी नेविसंघका उम्मेदवार विजयी भएका छन् । स्ववियु सदस्यमा मनिषा चौधरीले ७६२ मत, रुपेष चौधरीले ७५४, यामकुमारी भण्डारीले ७४६, सञ्जीव चौधरीले ७१४, ममता वलीले ७३९, करुणा नेपालीले ७१५, लक्ष्मण वलीले ८२५ मत र संयुक्त प्यानलका दिलिप शर्मा ५५३ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत पौडेलले जानकारी दिनुभएको छ । तीन हजार तीन सय १४ जना विद्यार्थी रहेको क्याम्पसमा एक हजार चार सय १७ मतदान भएको थियो ।