घोराही । दाङ जिल्ला उद्योग वाणिज्य संघको स्थापना दिवसको अवसरमा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। “कृषि, उद्योग र पर्यटन विकासका लागि दाङ जिल्ला उद्योग वाणिज्य संघको भूमिका” विषयक प्रतियोगितामा विभिन्न व्यवसायीहरू सहभागी भएका थिए।
प्रतियोगितामा ९ जना प्रतिस्पर्धीले भाग लिएका थिए। १५० पूर्णाङ्कको प्रतिस्पर्धामा खेमराज भण्डारीले ११३.५ अङ्क प्राप्त गर्दै प्रथम स्थान हासिल गरे। नवनि श्रेष्ठ १०७.५ अङ्कसहित द्वितीय भए भने ओम प्रकाश पोख्रेल १००.५ अङ्क ल्याएर तृतीय स्थानमा रहे। प्रभुराज चौधरी र रचना सुवेदीलाई सान्त्वना स्थान हासिल गरेको कार्यक्रमका संयोजक युवराज पोख्रेलले जानकारी दिए । जसले क्रमशः ९७ अङ्क प्राप्त गरेका थिए।
निर्णायक मण्डलमा सुन्दर गौतम, आदिम केसी र माया पोख्रेल रहेका थिए। कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षतामा तथा निवर्तमान अध्यक्ष टंकसिंह बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न भएकाृ थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष वसन्त जोशीले व्यवसायिक क्षेत्रको विकासका लागि उद्योग वाणिज्य संघको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता प्रतियोगिताले युवा व्यवसायीहरूलाई प्रोत्साहन गर्ने बताए। प्रमुख अतिथि बुढाथोकीले कृषि, उद्योग र पर्यटन क्षेत्रको समुचित विकासका लागि व्यवसायीहरूले सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखे।
कार्यक्रमका संयोजक युवराज पोख्रेलले कार्यक्रमको सहजीकरण गरेका थिए ।