घोराही, २० चैत ।
दाङको घोराहीमा मुख्यमन्त्री कप प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिता २०८१ सुरु भएको छ । प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा बुधबारदेखि प्रतियोगिता सुरु भएको हो ।
घोराही उपमहानगरपालिका–१५ स्थित जिल्ला समन्वय समितिको सहिद मञ्चमा सुरु भएको प्रतियोगिताको लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरीले गरेकी हुन । प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री चौधरीले खेलकुद केवल मनोरञ्जनको साधन मात्र नभई शारीरिक स्वास्थ्य र मानसिक सन्तुलनको आधार प्रमुख आधार रहेको बताइन ।
लिगकम नकआउटको आधारमा खेलाइएको मुख्यमन्त्री कप प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिता पहिलो दिन ६ वटा खेल भएको प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरन गौतमले जानकारी दिएका छन् । उनका अनुसार पहिलो दिन भएको खेलमा पाल्पामा लगातार दुई खेलमा जित निकाल्दै क्वाटरफाईनल प्रवेश गरेको छ । चार समुह विभाजन गरी खेल तालिका बनाइएकोमा समुह ‘बी’ बाट पाल्पाले अर्घाखाँची र नवलपरासी पश्चिमलाई हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।
पहिलो खेलमा रुकुम पूर्वले गुल्मीलाई ३–० को सोझो सेटमा हरायो । दोस्रो खेलमा पाल्पाले अर्घाखाँचीलाई ३–० को सोझो सेटमा हराउँदा तेस्रो खेलमा बाँकेले प्यूठानलाई पनि ३–० कै सोझो सेटमा हराएको छ । चौथो खेलमा रुपन्देहीले दाङलाई ३–० कै सोझो सेटमा हराउँदा पाचौँ खेलमा रोल्पाले रुकुम पूर्वलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । छैठौँ खेलमा पाल्पाले नवलपरासी पश्चिमलाई ३–० को सोझो सेटमा पाखा लगाउँदै पाल्पाले क्वाटर फाईनलको यात्रा तय गरेको हो ।
प्रतियोगिताको समुह ‘ए’ मा गुल्मी, रुकुम पूर्व, रोल्पा रहेका छन् भने समुह ‘बी’ मा अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम रहेका छन् । समुह ‘सी’ मा बाँके, प्युठान, कपिलवस्तु रहेका छन् भने समुह ‘डी’ मा दाङ, रुपन्देही, बर्दिया रहेका छन् । प्रतियोगिताको उपाधि जित्ने टिमले नगद एक लाख, मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने छ भने उपविजेता टिमले नगद पैसट्टी हजार, मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने प्रदेश खेलकुद परिषदका सदस्य कैलाश रोकामगरले जानकारी दिए । तृतीय पुरस्कार नगद पैतिस हजार, मेडल, ट्रफी र प्रमाणपत्र र सान्त्वना हुने टिमले नगद पन्ध्र हजार प्रमाणपत्र प्राप्त गर्ने छ ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद दश हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनुका साथै ६ विधामा उत्कृष्ट हुने खेलाडीलाई पनि जनही पाँच हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिता २३ गतेसम्म चल्ने छ ।