दाङ, २ वैशाख ।
नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री बलदेव शर्मा मजगैयाँले तीर्थराज ज्ञवाली चैतु सङ्गठन निर्माणमा अब्बल रहेको बताएका छन् । आज बिहान निधन भएका नेता चैतुलाई सम्झदै मजगैयाँले सङ्गठन बिस्तारमा अब्लल रहेको बताएका हुन् ।
२०२४ साल अगाडिदेखि नै राजनीतिमा सक्रिय रहेपनि संस्थागत रुपमा २०२४ सालदेखि नेपाली काङ्ग्रेसको राजनीतिमा सक्रिय रहेको मजगैयाले बताए । ‘हामी पार्टीका गतिविधिमा पहिलेदेखि नै सक्रिय रहँदै आएका थियौँ । २०२४ सालमा पार्टीको भ्रातृ सङ्गठन एनएसवाइएल (नेपाल स्टुडेन्ट युथ लिग) को संस्थापक सदस्य भएसँगैसंस्थागत राजनीतिमा प्रवेश गरेका हौँ । चैतुजी र म राजनीतिक सहयात्री पनि हौँ । दाङमा सङ्गठन बिस्तारमा चैतुजीको योगदान निकै महत्वपूर्ण रहेको छ । उहाँ सङ्गठन बिस्तारमा निकै अब्बल व्यक्तित्व हो । राजनीतिक जीवनमा गरेका सङ्घर्ष भोगेका जेल जीवन र प्रवासको जीवन स्मरणीय छन् । ’ मजगैयाँले थपे, ‘चैतुजीको निधनले एकदमै भावविह्ल भएको छु । बोल्न खोज्दा पनि बोल्न मलाई कठिन भइरहेको छ । पछिल्लो चरणमा शारीरिक रुपमा अस्वस्थ भएपछि राजनीतिमा निष्क्रिय रहे पनि चैतुजीमा राजनीतिक जोश, रणनीति उतिकै तेजबोध पाएको थिएँ मैले पछिल्लो पटक गत भदौमा भेट्दा । राष्ट्रिय राजनीति तथा दाङ काङ्ग्रेस निर्माणमा उहाँको योगदान निकै महत्वपूर्ण छ । दाङ काङ्ग्रेसको इतिहासमा उहाँको भूमिका पनि त्यतिकै महत्वपूर्ण भएको छ । उहाँको निधन काङ्ग्रेसले एक अभिभावक, नेतृत्व गुमाएको छ । ’
मजगैयाँले पछिल्लो चरणमा सक्रिय राजनीतिबाट विश्राम लिएका छन् ।
काङ्ग्रेस नेता चैतुको आज बिहान ९ः४५ बजे ७४ वर्षको उमेरमा निधन भएको हो ।