काठमाडौँ, १४ वैशाख ।
नेपाली काङ्ग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले आन्दोलनरत शिक्षकहरूको आवाजलाई दमन होइन, संवादबाट सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् । आज आइतबारको प्रदर्शनमा शिक्षक र प्रहरीबिच भएको झडपप्रति दुःख व्यक्त गर्दै महामन्त्री थापाले आन्दोलनरत शिक्षकहरूको आवाजलाई दमन होइन, संवादबाट सम्बोधन गर्न आग्रह गरेका हुन् ।
‘विद्यालय शिक्षा ऐनको माग गर्दै शान्तिपूर्ण रूपमा भेला भएका शिक्षकहरू र सुरक्षाकर्मीहरूबिच भएको झडप दुःखद र चिन्ताजनक छ। लोकतान्त्रिक मूल्य र नागरिक अधिकारको रक्षा गर्नु राज्यको पहिलो दायित्व हो।’ थापाले लेखेका छन् ।
साथै महामन्त्री थापाले शान्तिपूर्ण आन्दोलनमा सहभागी शिक्षकहरू, सुरक्षाकर्मी र पत्रकारहरू घाइते हुनु कुनै पनि हिसाबले उचित नभएको बताउँदै घाइते सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी र पत्रकारहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।
‘राज्यसँग आग्रह छ – शिक्षकहरूको आवाजलाई दमन होइन, संवादबाट सम्बोधन गरौँ। आन्दोलनरत शिक्षकहरुसँग भएको विगतको सहमतिको आधारमा निर्णय गरेर चाँडोभन्दा चाँडो कक्षाकोठामा फर्कने वातावरण बनाउनमा नै हामी सबैले काम गर्नु पर्ने छ, त्यही गरौं।’ महामन्त्री थापाले लेखेका छन् ।