काठमाडौँ, १ जेठ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले ‘एसइई’मा प्राप्त गरेको ‘जिपिए’ अङ्कका आधारमा विद्यार्थी भर्ना गर्ने भएको छ। विगतमा प्रवेश परीक्षा लिएर सोही आधारमा विद्यार्थी भर्ना गरेकामा अबदेखि प्राप्त ‘जिपिए’का आधारमा भर्ना गर्न लागेको हो।
अब सिटिइभिटी अन्तर्गतका कुनै पनि कार्यक्रम अध्ययन गर्न अबदेखि विद्यार्थीले इन्ट्रान्स परीक्षा (प्रवेश परीक्षा) दिनुपर्ने छैन। परिषद्ले हालै जारी गरेको ‘प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका २०८२’ लागू भएसँगै यो व्यवस्था हटाइएको हो।
वैशाख २६ गते बसेको सीटीईभीटीको २०७ औं बैठकले परीक्षा नियन्त्रण कार्यालयलाई सो निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको थियो। सोही निर्णयअनुसार इन्ट्रान्स परीक्षा यही शैक्षिक सत्रदेखि हटाइएको हो।
देशभर रहेका ६३ वटा आङ्गिक र ४०० भन्दा बढी प्रतिष्ठान तथा निजी कलेजहरूमा हरेक वर्ष २५ हजारभन्दा बढी विद्यार्थी भर्ना हुने गर्छन्। अब ती विद्यार्थीले आफूले रोजेको शिक्षालय तथा विषयमा अनलाइनमार्फत भर्ना फारम भर्न सक्नेछन्। सम्बन्धित क्याम्पसहरूले फारम भर्न सहजता मिलाउने व्यवस्था मिलाउने छन्।
स्वास्थ्य कार्यक्रमहरूको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवेशिका वा एसईई परीक्षामा अनिवार्य अंग्रेजी गणित र विज्ञान विषय लिई समग्रमा स्तरीकृत अंक ४.० मा न्यूनतम २.० जी. पी. ए. अथवा सो सरह वा परिषद्बाट सम्बन्धित प्राविधिक एस.एल.सी./प्रि-डिप्लोमा तहको कुल पूर्णाङ्कमा ६८.३३ प्रतिशत अंक प्राप्त गरी उत्तीर्ण गरेको हुनुपर्नेछ।
एस. एल. सी. / एस. ई. ई. को नतिजा पनि बराबर भएमा एस.एल.सी. / एस.ई.ई. परीक्षाको क्रमशः अनिवार्य गणित, विज्ञान र अंग्रेजीको फाइनल ग्रेडको आधारमा योग्यताक्रम प्रकाशित गरिने बताइएको छ। त्यसमा पनि अंक बराबर भएमा पिछडिएको दुर्गम एस.एल.सी. वा एस. ई. ई. उत्तीर्ण भएका उम्मेद्वारलाई प्राथमिकता दिइने उल्लेख छ।